झापा । 

गर्मीसँगै बढेको तातो हावाका कारण देशभर डेंगु फैलिएको छ । ७१ जिल्लामा डेंगुका बिरामी फेला परेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को विवरण छ । 

 ७१ जिल्लामा एक हजार १३० जना डेंगुका विरामी भेटिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  गर्मीसँगै बढेको तातो हावाले समेत डेंगु फैलिने वातावरण बनेको स्वास्थ्यकर्मीहरु बताउँछन् । 

सबैभन्दा धेरै डेंगु संक्रमण काठमाडौँ जिल्लामा देखिएको छ । ईडीसीडीको विवरणअनुसार काठमाडौँमा ११४ जना, झापामा १११ जना, चितवनमा ७३ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन् । यीबाहेक अरू जिल्लामा डेंगुका विरामीको संख्या ५० भन्दा कम रहेको छ । 

प्रदेश स्तरमा बाग्मती प्रदेशमा डेंगुका सबैभन्दा धेरै विरामी भेटिएका छन् ।  बाग्मती प्रदेशमा ३९० जना डेंगुका विरामी छन् भने कोशी प्रदेशमा २७२ जना डेंगुका विरामी भेटिएका छन् । 

मधेस प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बिनी प्रदेशमा १३२ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११५ जना रहेका छन् । ईडीसीडीको तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ सम्म देशभर एक हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको हो । 

मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा एडिस एजिप्टाइ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।