बिर्तामोड। 

आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो ।

जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ हजार ५५५ रुपैयाँ सुरक्षित गरेका छन् । खेलको ३६ औँ मिनेटमा पूर्वेलीका रमेश गुरुङले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा कप्तान दिनेश चौधरीले गोल थप्दै खेलको स्थिति २–० मा पुर्याए ।

खेलको ४० औँ र ४७ औँ मिनेटमा पूर्वेलीका विशाल राई ए ले गोल गरे । त्यस्तै, ५६ औँ मिनेटमा बिकर्ण श्रेष्ठले एक गोल गर्दै फराकिलो जित निश्चित बनाए । विराट मेगाले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेन । पूर्वेलीका बिकर्ण श्रेष्ठका तीनवटा सशक्त प्रहार विराट मेगाका गोलकिप्पर देवकान्त सिंहले बचाएका थिए । प्रतियोगिताको प्लेयर अफ दि म्याच पूर्वेलीका विशाल राई ए भए । उनले नगद २५०० र ट्रफी पाए । उनलाई प्राुख अतिथि नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली र व्यवसायी एसपी प्रसाईंले पुरस्कार प्रदान गरे ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् ।