बिर्तामोड ।
झापाको बिर्तामोडमा सञ्चालित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा शुरु भएको छ ।
नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रवार (आज) देखि शुचारु गरेको जानकारी दिएको हो । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीसहित चिकित्सकहरुले विपन्न नागरिक औषधि कोष अन्तरगतका सेवाका बारेमा पत्रकारहरुलाई जानकारी दिएका छन् ।
उक्त कार्यक्रम अन्तरगत नेपाली नागरिकले मात्र सेवा पाउने ब्यवस्था रहेको छ । सेवा पाउनका लागि डाक्टरले बिरामीको सुचिकृत गरेर रोग बारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको स्वास्थ्य शाखा अन्तरगतको प्रमुख प्रकाशकीय अधिकृत, स्थानीयतह प्रमुख, स्वास्थ्य शाखा प्रमुखको एक समिति हुने र सो समितिको सिफारिस आवश्यक पर्नेछ । स्थानीय तहको समितिले सिफारिस गरेर अस्पताललाई पठाएपछि त्यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटना सम्बन्धी भने उपचार भइसकेको हुने र पछि डकुमेन्ट ल्याउन सकिने पनि ब्यवस्था छ ।
कोही पनि बिपन्न नागरिक उपचारबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको हो । बिएण्डसीमा एकलाख रुपैयाँसम्मको हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा शुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उक्त कार्यक्रम अन्तरगत एक लाख रुपैयाँसम्मको सेवा अस्पतालबाट लिन पाइनेछ ।
विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत एकलाख भन्दा कम उपचार खर्च भए त्यो रहने र बढी भए त्यसलाई बिरामीले ब्यहोर्नु पर्ने गिरीले बताएका छन् ।