भद्रपुर । 

झापामा फुटवललगायतका खेलकूद क्षेत्रको विकास तथा सरकारी स्वामित्वमा रहेको मेची रंगशालाको संरक्षण, सम्बद्र्धन र विकासको उदेश्य राखेर स्थापना भएको भद्रपुर झापा गोल्ड कपको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर झापा गोल्ड कपले भद्रपुरस्थित मेची रंगशालामा शनिवार साधारणसभा सम्पन्न गरेको हो । 

भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत गोल्डकपका उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत) ले गरेको कार्यक्रममा मन्त्री कार्की, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकाल, कोशी प्रदेश सांसद छबिलाल चुडाल, निमसरी राजवंशी, पूर्व प्रदेश सांसद बसन्त बानिया, भद्रपुर नगरका प्रमुख प्रशासकीय अधिकृत सुनल निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले गरेका थिए । सोही कार्यक्रमकाबिच झापा जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा) लाई सम्मानसमेत गरिएको थियो । 

साधारणसभामा प्रथम भद्रपुर झापा गोल्डकपको आयब्ययसमेत सार्वजनिक गरिएको थियो । गोल्डकपको कोषाध्यक्ष गणेशलाल राजभण्डारीले बन्दपत्रमा प्रस्तुत गरेको  प्रतिवेदन अनुसार प्रथम भद्रपुर झापा गोल्डकपका लागि भद्रपुर नगरले ३० लाख, टिकट बिक्रीबाट ३४ लाख ५५०, आजिवन सदस्यता, बिशिष्ठ आजीवन सदस्ता, प्रायोजक तथा अन्य सहयोगी गरेर जम्मा २ करोड ६६ लाख १५ हजार ७८८ गरी जम्मा ३ करोड ३० लाख १६ हजार ३३८ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा छ । त्यस्तै बिभिन्न खर्च गरेर जम्मा २ करोड २१ लाख ८४ हजार ९३३  भएको जनाइएको छ । प्राप्त हुन बाँकी रकम २९ लाख २६ हजार ४३९ रुपैयाँ रहेको प्रतिवेदनमा छ । 

त्यस्तै गोल्डकपमा ७ लाख ९४ हजार ६०३ रुपैयाँ बराबरको जिन्सी सामाग्री रहेको र एक्सेल डेभलपमेन्ट बैंकमा रहेका संस्थाको २ वटा खाता, राष्ट्रिय बाणिज्य बैंक र नगदसहित जम्मा ८२ लाख ९१ हजार ८७ रुपैयाँ २६ पैसा बचत रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रथम साधारणसभाको बन्दसत्रले अध्यक्ष ढकाल, महासचिव श्रेष्ठ र कोषाध्यक्ष राजभण्डारीको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै दोस्रो भद्रपुर झापा गोल्ड कप भब्यताका साथ गर्ने निर्णय समेत भएको जनाइएको छ ।