अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ फुलबारीकी केशवती राजवंशीको दुवै मृगौला खराव भएपछि उपचारका लागि सहयोगको अपिल गरेकी छिन् । सात बर्षअघि श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि छोरीको भविश्यका लागि बैदेशिक रोजगारको सिलसिलामा दुबई गएकी ३० बर्षिया राजवंशी ५ महिना अघिदेखि दुवै मृगौलासहित मुटुमा पानी जमेको बताउँछिन् । 

श्रीमानसँग सम्बन्ध बिग्रेपछि अर्जुनधारा–५ फुलबारीमा दिदि राजुवती र आमा गाजली राजवंशीको घरमा आश्रय लिएर बस्दै आएकी केशवती ३ बर्ष अघि छोरीलाई दिदिको घरमा छोडेर दुबई गएकी थिइन् । दुबईको एक रेष्टुरेन्टमा वैटर्सको काम गर्दै आएकी उनलाई स्वास्थ्यमा समस्या भएपछि ५ महिना अघि परिक्षण गराउँदा चिकित्सकले दुबै मृगौला फेल भएको बताएको उनको भनाई छ । 

आर्थिक अवस्था एकदमै कमजोर भएकी केशवतीकी १३ बर्षिया छोरी बिर्तामोड–१ स्थित चारपानेमा रहेको एसेन्ट एकाडेमीमा कक्षा ६ मा अध्ययनरत छिन् । ‘५ महिना अघि दुबईमा परिक्षण गर्दा रोग पत्ता लाग्यो’ केशवतीले भनिन् ‘स्वास्थ्यमा समस्या भएपछि नेपाल फर्किए ।’ उनले अहिलेसम्ममा दुबईमा रहँदा बचत गरेको २ लाखवढी रुपैयाँ आफ्नो उपचारमा खर्च भइसकेको बताइन् । 

sahayog

हप्तामा दुई पटक डायलोसि गर्नु पर्ने बताउँदै केशवतीले भनिन् ‘एक पटक डायलोसि गर्दा करिब ५ हजार रुपैयाँ खर्च हुन्छ ।’ तर, हाल नगरपालिकाले डायलोसि निःशुल्क गरेपछि औषधीलगायतमा गरेर केही रकम कम भएको बताइन् ।  उनले देश तथा बिदेशमा रहने आफन्त, छरछिमेक, सहयोगी मनसँग छोरीको लागि भएपनि आफु बाच्न चाहने भएकाले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन सवैमा अनुरोध गरेकी छिन् ।

सोही अवसरमा केशवतीका मितबुबा कमल–५ का नन्दलाल भुजेलले ८ हजार रुपैयाँ सहयोग गरेका थिए । उनले यसअघि पनि ६ हजार, २ हजार ५ सय र ८ हजार रुपैयाँ सहयोग गरिसकेका बताइएको छ । 

उनको उपचारमा सहयोग पुर्याउन स्थानीयले ताराप्रसाद बरालको संयोजकत्वमा केशवती राजवंशी बचाउ अभियानसमेत गठन गरेर आर्थिक संकलन शुरु गरेका छन् । 

सहयोग गर्न चाहनेले उनको नेपाल बैंक लिमिटेड बिर्तामोड शाखामा भएको नाम केशवती राजवंशी र खाता नम्बर ०८८१०८०७६४६५७७०००००१ मा सहयोग गर्न सकिनेछ ।