बिर्तामोड । 

‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८०’ बाट सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीसहित पाँच जना श्रष्टा सम्मानीत हुने भएका छन् । सम्मानीत हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेता राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, अन्टाक्र्टिका महादेश पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा र सहकारीसँगै बिभिन्न सामाजिक संघ/संस्थामा सफतापूर्वक नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएका सामाजिक ब्यक्तित्व गिरी छन् । 

उनीहरु पाँचै जनालाई विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८० कार्यक्रम अन्तरगत आगामी चैत २१ गते बिर्तामोडमा सम्मान गरिने भएको छ । आयोजक संस्था गोर्खा फाउण्डेशन तथा प्रथम बिशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८० ले बिर्तामोडमा सोमवार (आज) पत्रकार सम्मेलनको आयोजना गरी सम्मानीत ब्यक्तित्वहरुको नाम सार्वजनिक गरेको हो । 

चलचित्रको लेखन, निर्देशन तथा निर्माण गरी नेपाली चलचित्रको क्षेत्रलाई संस्थागत गर्दै नेपाली कला क्षेत्रको विकासमा अतुलनिय योगदान गरेको भन्दै भारत निवासी घिमिरेलाई सम्मान गरिन लागेको र नेपाली चलचित्रको नायकको भुमिकामा ३५ बर्षदेखि रहेर नेपाली चलचित्रलाई स्थापित गराउन सफल महानायकले समेत परिचित हमालले चलचित्रसँगै समतामुलक समाज निर्माणमासमेत महत्वपूर्ण भुमिका खेलेको भन्दै सम्मान गर्न लागिएको बताइएको छ ।  

त्यस्तै उत्पीडन महिलाहरुको समुदायले भोग्नु परेको पिडासमेतबाट निजामति सेवामा प्रवेश गरी उत्पीडन महिलाहरुबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी सितालाई  सम्मान गर्न लागिएको छ भने भारतीय गोर्खा रेजिमेन्ट भुवनसिंह भारतीय सेनाको टोलीबाट मानव बिहिन अन्टाक्र्टिका महादेशमा पुग्ने पहिलो नेपाली  बनेर नेपाली नागरिकको इतिहास रच्न सफल भएको भन्दै सम्मान गर्न लागिएको जानकारी दिइएको छ । 

त्यसैगरी ३४ जना सदस्यबाट स्थापना भएको सहारा नेपाल साकोसलाई नेपालकै सवै भन्दा ठूलो सहकारी बनाउन योगदान साथै समर्पण भवन निर्माण, एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनिकरण महाअभियान, पिसिआर ल्यावको स्थापना, अक्सिजन सिलेण्डरको ब्यवस्थापन, झापा गोल्डकपलगायतका दर्जनौ सामाजिक संस्थामा नेतृत्वदायि भुमिका निर्वाह गरेर समाज र देशका लागि अतुलनिय कार्य गरेको भन्दै गिरीलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सहारा नेपालका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गिरीलाई सहकारीको स्थापना दिवसकै अवसरमा सम्मान गर्न लागिएकोसमेत जानकारी दिइएको छ ।   

नेपाल राष्ट्र निर्माता पुथ्बीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका तत्कालीन गोरखा दरवारमा, दरबारिया तथा राजपरिवारको भोटो सिलाउने साथै दरवारमा नगरा बजाउने नौबाग तथा बिशे नगर्चीको योगदानका स्मरण गर्दै नयाँ पुस्ताबिच पुनःस्थापित गराउने उदेश्यले उक्त कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बिरु दर्नालले जानकारी दिए । राजा पृथ्बीनारायण शाहलाई स–साना राज्यहरुलाई एकीकरण गर्न आर्थिक अभावका समयमा बिशे नगर्चीको सल्लाह अनुसार समस्या समाधान भएको इतिहासमा पढ्न सकिने आयोजक संस्थाका अध्यक्ष दर्नालले बताए । 

पत्रकार सम्मेलनमा सम्मान छनौट समितिका संयोजक हस्त परियार, आयोजक संस्थाका सदस्यलगायतको उपस्थिति रहेको थियो ।