बिर्तामोड। 

टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल  क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।  

खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो ।

१३ औँ मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोल रक्षकले विफल बनाए । २४ औँ मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोस्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो ।

५५ औँ मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औँ मिनेटमा एपिएफका प्रदिप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।

अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बताए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४ औँ मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औँ मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले बचाए । खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल  फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।

  • सभामुख घिमिरेले गरे उद्घाटन

प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिकुलताका बाबजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए ।

भूमाफियाको आँखा परेको डोमालाल राजवंशी रंगशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामुहिक प्रयास आवश्यक रहने बताए । उनले एक वर्षभित्र कानुनी अप्ठ्याराहरु भए संशोधन गरेर भए पनि यो जमिन रंगशालाको नाममा ल्याउनुपर्ने उनको धारणा थियो । आगामी संस्करण आफ्नै जमिनममा आयोजना गर्ने दिशामा अगि बढ्ने उनले बताए ।

प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौँ दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए ।  कार्यक्रममा लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । यसैगरी धुलाबारीको इस्ट होराइजन स्कुलका विद्यार्थीहरुको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता आयोजना हुँदै गर्दा बिर्तामोडलाई बेहुलीझैँ सिँगारिएको छ । बिर्तामोडदेखि विर्ताबजारस्थित रंगशाला जाने सडकमा बत्ती बालेर उज्यालो बनाइएको छ । बिर्तामोडको मुक्तिचोक झकिझकाउ बनाइएको छ ।

मुक्तिचोकको पूर्व–पश्चिम राजममार्गमाथि लुङता टाँगेर आकर्षण थपिएको छ । बिर्तामोडमा आउने पर्यटकले पनि सहजै झापामा भइरहेको यो प्रतियोगिताको लोकप्रियताको महसुस गर्ने छन् ।कार्यक्रममा जग्गादाता डोमालाल राजवंशीका नाति भीम राजवंशीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए । प्रतियोगिता आयोजक समितिका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको थियो ।