झापा । 

१४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ ।आगामी फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जूुनधारकै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहमा यसअघि छनोट प्रतियोगिता सम्पन्न भइसकेको र ती प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लाको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय तहहरुलाई पनि खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले पनि यस वर्षको प्रतियोगिता अर्जुनधारा नगरपालिकामा गर्न लागिएकोजनाइएको । खेलकुद गतिविधिमा सधैं अग्रपंक्तिमा रहँदै आएको अर्जुनधारा नगरपालिका १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन पालिका पनि हो ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उुसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।