बिर्तामोड । 

झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।

भोलि माघ २९ गते फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ । प्रतियोगिताअन्तर्गत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले दिपक आङदेम्बे र जीवन बोगटीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडीले  कृष्ण खड्का र विष्णु तामाङको जोडीको सामना गर्नेछ । त्यस्तै, खुला डबल्सतर्फ निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले विनय चौधरी र लाक्पा शेर्पाको जोडीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

हिमाल चन्द र विवेक कन्दङवाको जोडीले भोजबहादुर गुरुङ र विशाल तामाङको जोडीसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।  प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका वातावरण प्रमुख समेत रहेका कुरुबाङले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।