बिर्तामोड । 

 झापाको बिर्तामोडमा हुने पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु भएको छ । खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिता शनिवार (आज) देखि शुरु भएको हो । 

बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा माघ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता आयोजना हुने भलिवल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काले जानकारी दिए । 

प्रतियोगिताको आयोजना लायन्स क्लब अफ अनारमनी गरेको छ । प्रतियोगितामा नेपालका उत्कृष्ट २० ¥यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने बताइएको छ । त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।