बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकी शुक्रबार उद्घाटन गरिएको छ । गत जेष्ठ १६ गतेबाट सञ्चालनमा आएको स्वास्थ्य चौकीलाई बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् । 

जग्गादाताले जग्गा दिएको ११ बर्ष पुग्दा पनि विविध राजनीतिक परिस्थितिका कारणले समयमै स्वास्थ्य चौकी बन्न नसक्नु दुःखको कुरा भएको नगर प्रमुख पवित्रा महतरा प्रसाईले बताइन्  । उनले मनलाई उद्दार बनाएर सात कठ्ठा जग्गा अस्पताल निर्माणका निम्ति प्रदान गरेकोमा  स्थानीय समाजसेवी चन्द्रप्रसाद बजगाईलाई विशेष धन्यवाद ब्यक्त गरिन् । 

बिर्ता आई अस्पतालको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य आँखा शिविरमा नगरप्रमुख प्रसाईले आफ्नो आँखा परीक्षण गराएर आँखा शिविरको पनि उद्धाट्न गरिएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश  बिर्तामोड वडा नम्वर २ का अध्यक्ष किशोरकुमार पौड्यालले स्वास्थ्य चौकी निर्माण गर्न जग्गा उपलव्ध गराउने दाता बजगाई एवं उनको परिवारलाई यस क्षेत्रका नागरिकले कहिल्यै विर्सिन नसक्ने बताए  । 

२०७१ सालमा करीव २ करोड बराबरको जग्गा अस्पतालको नाममा दान गरेका बजगाई ११ बर्ष लाग्दा पनि आफूले अपेक्षा गरिए अनुरुपको अस्पताल निर्माण हुन नसकेको भन्दै दुखेसो पोखे । भोलीका दिनमा अस्पतालको स्तरोन्नतिका लागि केही आवश्यक परे आफू सहयोग गर्न तयार रहेको उल्लेख गरे । 

कार्यक्रममा जग्गादाता चन्द्रप्रसाद बजगाई, शान्ता बजगाई, चारपाने स्वास्थ्य चौकीका पूर्व इन्चार्ज शिवप्रसाद शाह लगायत लामो समयबाट स्वास्थ्य सेवा रही  अवकाश लिएका  स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर अस्पतालका प्रमुख सुनिल अधिकारी,  एकता स्पोटिङ क्लवका अध्यक्ष  किरण पौड्याल, समाजसेवी भवानी ओली, लगायत राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  कार्यपालिका सदस्य शर्मिला त्रिखत्रीले स्वागत गरेको   कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तुलसी पोखरेलले गरेका थिए । चौकी बाट वडाबासीलाई सर्बसुलभ उपचार उपलब्ध गराउन वडासचिब हिमा पोख्रेलले बताइन् ।