दुर्गापुर । 

झापा कनकाई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरका जेष्ठ नागरिक हरिध्वज खत्री तिमिल्सिनाले दुई वटा कृति प्रकाशन गरिसकेका छन् भने तेस्रो कृति प्रकाशनको तयारीमा रहेको बताएका छन् । 

वि.स. १९९० मंसीर २१ गते जन्मिएका खत्रीले पहिलो कृतिका रुपमा ‘नेपाल’ १० बर्ष लगाएर प्रकाशन गरेका थिए भने अर्को हालसालै ‘नेपाल मण्डल’ भन्ने कृति पनि १० बर्षको अन्तरालमा प्रकाशन गरेका हुन् । त्यस्तै तेस्रो कृतिका रुपमा ‘नेपाल नेवारी’ आउँदै गरेको दुर्गापुरमा बिहीवार (आज) पत्रकारहरुसँग कुरा गर्दै खत्रीले जानकारी दिएका छन् । 

खत्रीले लेखेका पुस्तकहरुमा नेपालको इतिहास समेटिएका छन् । खत्रीको पहिलो पुस्तक ‘नीप + आलय नेपाल’ मा ३ हजार ९ सय १५ वटा गाविसका नामहरु उल्लेख भएको बताए । 

दोस्रो पुस्तक नेपाल मण्डलमा नेपालमा रहेका जातजातीहरुका थर, गोत्र र पाछा समेटिएको छ भने लेख्दै गरेको नेपाल नेवारीमा नेवारी जातीको इतिहास र त्यतिवेलाका बिभिन्न राज्य र तीनका सिमानासहितका गतिविधि समेटिएको लेखक खत्रीले बताए । लेखक खत्रीका अनुसार पृथ्बीनारायण शाहले चार जात छत्तिस वर्णमा बिभाजित गरे थिए, तर आज १२५ वर्ण पुगेका छन् । 

hari dwaj

बाल्यकालदेखि नै अध्ययनशील लेखक खत्री जता जाँदा पनि पुस्तक साथमा लिएर हिड्ने र अध्ययन गरिरहने आदत रहेको भएको बताए । त्यहिँ अध्ययनका कारणनै पुस्तक लेख्ने प्रेरणा जागेको उनको भनाई छ । 

दुई छोरा र तीन छोरीका पिता खत्री हाल दुर्गापुरमा श्रीमती टिकाकुमारी खत्री र नातीका साथमा बस्दै आएका छन् । उनको जेठो छोरा केही बर्ष अगाडी सवारी दुर्घटनामा परेर मृत्यु भएको उनले सुनाए । 

खत्रीले ४ बर्ष शिक्षण पेशा, ५ बर्ष लकडीको ठेक्का, १० बर्ष निर्माण ब्यवसायीका रुपमा र १० बर्ष कोटीहोमको अध्यक्षका रुपमा काम गरिसकेको बताए । उनले ९० बर्षको उमेरमा पनि आफ्नो लेखन यात्रालाई निरन्तरता दिदै आएका छन् । खत्रीले हालसालै प्रकाशन गरेको पुस्तक ४५६ पेजको छ । उनले १००० प्रति उक्त पुस्तक प्रकाशन गरेका छन् भने पुस्तकको मुल्य रु १००० रहेको छ । पुस्तक प्रकाशनमा करिब १० लाख रुपैयाँ खर्च भएको उनले बताए । 

पछिल्लो समय सवै मोवाइलमै बिजी रहने गरेको बताउँदै खत्रीले पुस्तक पढ्ने पाठकको कमीका कारण चाँडै वेवसाइट सञ्चालन गर्ने र त्यसमा आफ्ना कृतिहरु राख्नेसमेत बताएका छन् । लाखौं खर्चिएर पुस्तक प्रकाशन गरेपनि पुस्तक पढ्ने र किन्ने पाठक नभएको खत्रीको गुनासो छ । कार्यक्रमको सहजीकरण मनोज बस्नेतले गरेका थिए ।