बिर्तामोड । 

नेवाः पासा मुना पुचः बिर्तामोडले बिर्तामोडमा पाँचौं ‘नेवा फुड फेस्टिवल’ तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजनामा आगामी पुस २८ गते नेवा फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम गर्ने बिहीवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरेर जानकारी दिएको छ । 

नेवार समुदायको संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उदेश्यले २०७४ सालदेखि झापाको बिर्तामोडमा फुड फेस्टिवल गर्दै आएको नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । यस पटक बिर्तामोडस्थित वान स्टप महल अगाडी बिहान ११ बजेदेखि फुड फेस्टिवलको तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

newar

नेवार समुदायका मौलिक खानपानलाई नयाँ पुस्तालाई चिनाउने र नेवार समुदायको सस्कारलाई परिचित गराउन प्रत्येक बर्ष फुड फेस्टिवल गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार नेवार फुड फेस्टिवलमा १० वटा स्टल रहनेछन् । 

फेस्टिवलमा बिशेष गरेर नेवारी खाजासेट अन्तरगत २ प्रकारका यमरी, सेलरोटी, तीन प्रकारका बारा, बिभिन्न प्रकार मःमः, कोल्डडिरिङ, बर्गर, माछा, आलुचिप्सलगायतका खानाका परिकार रहने आयोजक संस्थाले जनाएको छ । 

कार्यक्रमको उद्घाटन बरिष्ठ गीत तथा संगीतकार शिवशंकर थापाले गर्ने अध्यक्ष श्रेष्ठले बताए । सांस्कृति कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरु अर्जुन खरेल, ज्योती खाती, बिनोद कालिकोटेलगायतको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रमका जितेन्द्र श्रेष्ठले जानकारी दिए । फेस्टिवलका लागि अनुमानित १ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ भने १० हजार दर्शकको उपस्थिति रहने आयोजक संस्थाले जनाएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा नेवाः पासा मुना पुचःका उपाध्यक्ष राजिव श्रेष्ठ, सदस्य निरु खड्का श्रेष्ठ, तारादेबी श्रेष्ठ, लाखं संरक्षक लक्ष्मी श्रेष्ठ, कार्यालय सचिव संजय श्रेष्ठ, मिलन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।