बिर्तामोड । 

नेपालकै सवैभन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘राष्ट्रिय ब्यक्तित्व सम्मान पुरस्कार’ र ‘सहारा सहकारी पत्रकार पुरस्कार’ बितरण गरेको छ । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाले शनिवार (आज) बिर्तामोडमा आयोजित २७ औं बार्षिक साभारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण कार्यक्रममा पुरस्कार बितरण गरेको हो । 

साकोसले प्रत्येक २ बर्षमा वितरण गर्ने ‘राष्ट्रिय ब्यक्तित्व सम्मान पुरस्कार’ बाट यसबर्ष नेफस्कुनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलाई पुरस्कृत गरेको छ । उक्त पुरस्कारको राशी एक लाख एकहजार रुपैयाँ रहेको छ । उक्त पुरस्कारबाट यसअघि लघुबित्त बिज्ञ शंकरमान श्रेष्ठ र राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष केशव बडाल पुरस्कृत भएका थिए । 

त्यस्तै सहारा सहकारी पत्रकार पुरस्कारबाट एभीन्यूट टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन न्युज डटकमका सम्पादक सन्तोष न्यौपाने पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँको छ । पत्रकार न्यौपानेले पत्रकारिताको माध्यमबाट संस्थालाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सहारा सहकारी पत्रकार पुरस्कारबाट सम्मान गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । 

sahara 27

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत ब्यक्तित्वलाई सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि देबराज घिमिरेले सम्मान गरेका थिए । पुरस्कृत ब्यक्तित्वलाई दोसल्ला र सम्मानपत्रसमेत सम्मान गरिएको थियो । संस्थामा २०८० असार मसान्तसम्म १ लाख ५७ हजार ६०६ जना शेयर सदस्य रहेका छन् भने शेयरपुँजी एक अर्व ६३ करोड १४ लाख रहेको गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै संस्थाको वित्तीय अवस्था जगेडाकोष १ अर्व २३ करोड़, अन्य कोष ३७ करोड ९६ लाख, बचत १० अर्व ९५ करोड ४९ लाख, लगानीमा रहि रहेको ऋण ११ अर्व २० करोड ५५ लाख, भौतिक सम्पति ५० करोड ७५ लाख र बाह्य ऋण ५७ करोड २८ लाख रहेको छ भने वासलात १५ अर्ब ४८ करोड २९ लाख पुगेको छ ।

हालको जटिल परिस्थितिमा पनि संस्थाले यस वर्ष ३९ करोड ८६ लाख खुद मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले गरेको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख गिरीले साकोसको बस्तुस्थिति र आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।संस्थाले यस आर्थिकबर्ष भित्र १० सेवाकेन्द्र थप गरी ९० सेवा केन्द्र, २ लाख सदस्य र १९ अर्वको वासलात बनाउदै ६२ करोड नाफा कमाउने उदेश्य लिएको छ । 

सोही कार्यक्रमकाबिच हालसम्म संस्थामा एकीकरण भएका सातवटा सहकारी संस्थाहरुलाई प्रमाणपत्रसमेत बितरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, सम्मानीत ब्यक्तित्व कैलाशभक्त, कोशी प्रदेशका सहकारी रजिस्ट्रार हरिबहादुर खत्री, राप्रपा झापा अध्यक्ष तथा साकोसका सल्लाहकार केशवप्रसाद ओझा, सामाजिक ब्यक्तित्व लोकराज ढकाल, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । कार्यक्रममा बिभिन्न सांगेतिक कार्यक्रमसहित तिहारको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।