हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले प्रथम अन्तरपालिका झापा जिल्ला स्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिता सञ्चालनका लागि खेलाडी छनौट गर्ने भएको छ । आगामी २०८१ सालमा आयोजना हुने भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता दोस्रो संस्करणका लागि आयोजक भद्रपुर ब्लेजर्स फुटवल टिमको पत्र अनुसार पालिकाले खेलाडीहरु छनौट गरिने भएको हो । 

खेलाडी छनौट पूर्व तयारी गर्न मेची रंगशालामा आगामी मंसिर ७ गतेदेखि झापाका सबै पालिकाहरुलाई सहभागी गराएर प्रथम अन्तरपालिका झापा जिल्ला स्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको पालिकाले आइतवार सूचना जारी गरी जनाएको छ । 

हल्दीबारी गाउँपालिकाले खेलाडीहरु छनौट गरेर पठाउने भएकोले आगामी कार्तिक १९ गतेसम्ममा पाथिभरा खेल मैदान हल्दीवारी ४ स्थित बडावारी खेलाडीबिच प्रतिस्पर्धा गराएर छनौट गर्ने खेलाडी छनौट समितिका संयोजक तथा हल्दिबारी–४ मा वडाध्यक्ष  सन्तकुमार थापाले बताएका छन् । उनका अनुसार खेलका बिज्ञबाट खेलाडी छनौट गरिनेछ । 

खेलाडी हल्दीबारीमा स्थायी बसोबास भएको, फुटबल टिम, क्लब, संस्था आदिसँग आवद्ध भएपनि खेलाडीले व्यक्तिगत सहभागी हुन सक्ने, यसमा संस्थाको सिफारिस अनिवार्य नहुने, खेलाडीहरुलाई आन्तरिक प्रतिस्पर्धा गराई छनौट गरिने भएको हुँदा आफुलाई आवश्यक पर्ने सामान खेलाडीले नै लिएर आउनु पर्ने शर्तहरु रहेका छन् । 

 पालिकाले वडा नम्बर ४ का वडाध्यक्ष सन्तकुमार थापा, वडा नम्बर १ का वडा सदस्य प्रकाश कार्की, वडा नम्बर २ का वडा सदस्य गणेश मगर, वडा ३ नम्बरका वडा सदस्य अजितकुमार विष्ट, वडा नम्बर ५ का वडा सदस्य विजय फागो र गाउँपालिका योजना शाखाका सुरज पोखरेललाई सम्पर्क ब्यक्तिका रुपमा तोकेको प्रमुख प्रकाशकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।  

kheladi