झापा । 

पछिल्लो समय सहकारीहरु हराउने क्रम वढेर गएको छ । सहकारी संस्थाहरुलाई नियमन गर्ने क्रम बढेसँगै ग्रामिण भेगमा सञ्चालित सहकारी संस्थाहरु हराउने क्रम वढेको छ । काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता भएका छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ८४९ वटा सहकारी बेपत्ता भएका हुन् ।

हाल डिभिजन सहकारी कार्यालयमा दर्ता भएका ६४६ वटा सहकारी मात्र फेला परेका छन् । जिल्ला सहकारी संघले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । संघीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । संघले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।

अध्ययनबाट काभ्रेको जनसङ्ख्या भन्दा दोब्बर संख्यामा सहकारीको शेयर सदस्य रहेको पाइएको छ । सहरी क्षेत्रका स्थानीय तहमा एकै व्यक्ति धेरै वटा सहकारीमा सदस्य बनेको देखिए पनि ग्रामीण भेगमा भने अझै सहकारीको अभियान पुग्न सकेको छैन । 

२०७८ सालको जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ छ तर काभे्रपलाञ्चोकका सहकारीमा छ लाख ६९ हजार १८ जना सदस्य छन् । तीमध्ये १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको अध्ययनबाट थाहा भएको छ । सहकारीमा उनीहरू सदस्य छैनन् । 

सहकारी अभियानमा निरन्तर पुरस्कृत र सम्मानित भएको संघले ७७ जिल्लामै पहिलो पटक काभ्रेबाट तथ्याङ्कीय विवरण सङ्कलन शुरु गरेको थियो । अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा तत्कालीन सहकारी डिभिजन कार्यालयले हस्तान्तरण गरेका सहकारीमध्ये आधाभन्दा धेरै फेला नै नपरेको उल्लेख छ ।