बिर्तामोड । 

झापाको बिर्तामोडमा भएको चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नम्बर १० ले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा बिहीवार(आज) भएको फाइनल खेलमा विर्तामोड वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–१० ले उपाधि उचालेको हो । उपाधि जितेसंगै बिर्तामोड १० ले नगद १ लाख, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उपविजेता बनेको बिर्तामोड–५ ले नगद ५० हजार, मेडल, ट्रफी तथा प्रमाण–पत्रमा चित्त बुझाएकोे छ । प्रतियोगिताका विजेता र उपविजेता लगायतलाई आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडाअध्यक्षहरु राहुल शर्मा र रोहित प्रसाई, आयोजक समितिका उपाध्यक्षहरु सन्तोष गुरुङ र आईतमाया शेर्मा लगायतले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए ।