शिवसताक्षी । 

झापा इनर्जी लिमिटेडले करिब डेढ महिना भित्र सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ स्थित बुलोचोकमा निर्माणधिन अवस्थामा रहेको झापा इनर्जीको कार्य डेढ महिनाभित्र सम्पन्न गरी बिजुली उत्पादन गर्ने भएको हो । 

लिमिटेडका प्रवन्ध निर्देशक सुवास भट्टराई, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा सञ्चालक पवित्रा महतरा प्रसाई र सञ्चालक नारायण पोखरेलसहित पत्रकारहरुको टोलीसँगको बुधवार फिल्ड भिजिटका क्रममा परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ ।

परियोजना स्थलमा बुधबारबाट सोलार प्यानल अनलोडको काम सुरु भएको छ । पहिलो चरणमा १० कन्टेनर सोलार प्यानल आइसकेको जम्मा ३५ कन्टेनर प्यानल आउने बताइएको छ ।

jhapa enrgy

७९ करोड ८० लाख रुपैयाँको लगानीमा ४ बर्ष अघि शुरु भएको परियोजना दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड महामारी र आर्थिक मन्दीका कारण केही ढिला भएको कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराईले जानकारी दिए । परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समय डेढ महिना ढिलो भएको उनले बताए । करिब ७०० शेयर सदस्यको सामूहिक २२ करोड र बैंकको ५७ करोड परियोजनामा लगानी रहेको प्रबन्ध निर्देशक भट्टराईले बताए । परियोजनामा लगानीकर्ताहरुलाई कुनैपनि घाटा नहुने प्रबन्ध निर्देशक भट्टराईले दावी गरेका छन् । 

२२ बिगाहा कम्पनीको र २ देखि ३ विगाहा लिजमा लिएर शुरु गरिएको परियोजनामा अहिले सोलार प्यानल आइरहेको र एक हप्ता भित्रमा प्यानल अनलोडिङको कार्य सम्पन्न गरेर एक महिनाभित्रमा प्यानल जडान गरि सकिने परियोजनाका को–अडिनेटर तथा इन्जिनियर अभिषेक पराजुलीले बताए । उनका अनुसार ३५ वटा कन्टेनरमा २२ हजार ६०० सोलार प्यानल आउनेछ । परियोजनाको पिलर र राफ्टर लगाउने कार्य सम्पन्न भइसकेकोले करिब ढेड महिना भित्रमा सोलार प्यानल जडान गरेर बिजुली उत्पादन गर्ने इन्जिनियर पराजुलीको भनाई छ । 

पूर्वी नेपालकै सवैभन्दा ठूलो सोलारबाट १० मेगावाट बिद्युत उत्पादन गर्ने झापा इनर्जी पहिलो भएको कम्पनीले जनाएको छ ।