दुर्गापुर । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले चार जना सदस्यलाई सम्मान गरेको छ । संस्थाको एघारौं वार्षिक साधारण सभा अन्तरगत आज कनकाई–१ स्थित सदस्य सेवा केन्द्र दुर्गापुरको इकाइगत साधारण सभामा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट आवधिक बचततर्फ नरमाया बस्नेत, उत्कृष्ट शिक्षा बचततर्फ कृष्णराज राजवंशी, उत्कृष्ट ऋणीतर्फ कमला पौडेल र उत्कृष्ट साधारण बचततर्फ रुद्रप्रसाद भारती सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई–१ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, विशेष अतिथि वडा सदस्य निर्मला खड्का, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुशीलकुमार पोखरेलले सबै सदस्यले संस्थाप्रति जिम्मेजार हुनुपर्नेमा जोड दिए । उनले सबै सहकारी खराब नहुने बताउँदै खराब सोच र उद्देयश्ले सञ्चालन भएका सहकारीहरुले मात्र गतल गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा विशेष अतिथि वडा सदस्य निर्मला खड्काले समाज रुपान्तरणमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण भएको चर्चा गर्दै साधारणसभामा आउने जाने मात्र नभई संस्थाको समग्र अवस्थाका बारेमा सदस्य जानकार हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा संस्थाको आम्दानी बृद्धि हुने, रोजगारी सिर्जना हुने र सदस्यलाई आत्मनिर्भर एवम् व्यावसायिक बनाउने खालका योजना ल्याउने तर्फ संस्था केन्द्रित हुने बताए । उनले गत आवमा तीन जना सेयर सदस्यको ३ लाख ५० हजार १३० रुपैयाँ कर्जा मिनाह गरिएको बताए।

संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक संकटको जटिल अवस्थामा पनि संस्था लक्ष्य प्राप्तितर्फ अग्रसर हुँदै गएको बताए । उनले आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको जानकारी दिए। त्यस्तै, शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको उनले बताए । 

कार्यक्रममा ऋण उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करो ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको जानकारी दिए। संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य चिजा राईले गरेकी थिइन् । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लक्ष्मी देवान, संस्थाका कर्मचारी दुर्गा कटुवाल, डिल्ली दाहाल, गीता दाह लगायतको उपस्थिति रहेको थियो ।

मुख्य कार्यालय बिर्तामोडसहित शनिश्चरे, धाइजन, धुलाबारी, चैतुबारी र दुर्गापुर सदस्य सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको शिक्षा बहुउद्देश्यमा हाल चार हजार ७२० जना शेयर सदस्य छन् भने ३३ जना कर्मचारी कर्मचारी कार्यरत छन् ।