बिर्तामोड। 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँच वटा सेवा केन्द्र रहेको संस्थाको मंगलबार (आज) सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण सभा शुरु भएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षातामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली रहेकी थिइन् ।

साधारण सभाको उद्घाटन पश्चात शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पराजुलीले सहकारी संस्थाप्रति सदस्यले अपन्त्व ग्रहण गर्नुपर्नेमा जोड दिइन् । उनले  धेरै सहकारी संस्था समस्यामा रहेको बताउँदै उनले नगरपालिकामा समेत धेरै उजुरी आउने गरेको सुनाउनुभयो । शिक्षा सहकारीको प्रतिवेदन अध्ययनका क्रममा संस्थाको कोषको अवस्था राम्रो बताइन् । कार्यक्रममा सदस्य सेवा केन्द्र शनिश्चरे अन्तरगत तीन जना सदस्यलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा आवधिक बचततर्फ भरत धिमाल, शिक्षातर्फ त्रिमेश दाहाल र उत्कृष्ट ऋणतर्फ लक्ष्मी तामाङलाई सम्मान गरियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिए। शिक्षाले सदस्य केन्द्रित धेरै सुविधा र योजना ल्याएकाले लाभ लिन सदस्यलाई आग्रह गरे ।

त्यस्तै, संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कोष क्रमशः बृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको जानकारी दिए । गत आवमा संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको उनले बताए । 

कार्यक्रममा ऋण उपसमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले आर्थिक वर्ष २०७९/०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करो ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको जानकारी दिए। त्यस्तै, संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ । संस्थामा हाल चार हजार ७२० जना शेयर सदस्य छन् भने ३३ जना कर्मचारी रहेका छन् ।

मुख्य कार्यालय बिर्तामोडसहित शनिश्चरे, धाइजन, धुलाबारी, चैतुबारी र दुर्गापुर सदस्य सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ ।संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष हेमराज मिश्रले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति सदस्य यामनाथ खरेल, लक्ष्मी देवान लगायतको उपस्थिति रहेको थियो ।