बिर्तामोड । 

झापाको बिर्तामोड–४मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था सदस्यहरुप्रति उत्तरदायि बन्दै गएको छ । संस्थाले ३ लाख ८७ हजार ८५० रुपैयाँ आफ्ना सदस्यहरुप्रति सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गरेको छ । संस्थाले आर्थिक बर्ष २०७९/०८० मा बालबालिकाको स्वास्थ्य उपचार तथा केक, प्रसुति सहायता, मृत्यु संस्कार, सदस्य उपचार राहतलगायतका शिर्षकमा रकम खर्च गरेको हो । 

संस्थाले बालबालिका स्वास्थ्य उपचार तथा केकमा १ लाख ३० हजार ३५० रुपैयाँ, सदस्य मृत्यु संस्कारमा १ लाख ९१ हजार, प्रसुति सहायता राहतमा १५ हजार, सदस्य स्वास्थ्य उपचारमा ६ हजार ५०० रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गरेको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले जानकारी दिए । संस्थाले सदस्यको मृत्युपछि आर्थिक बर्ष २०७९/८० मा ३ लाख ५० हजार १३० रुपैयाँ ऋण मिनाह गरेको जनाइएको छ । 

त्यसैगरी संस्थाले ३ बर्षअघिदेखि बिर्तामोड–२ मा पूर्व प्राथमिक तहको बिद्यालय सञ्चालन गर्दै आएको छ । उक्त बिद्यालयमा ८३ जना नानीबाबुहरु अध्ययनरत रहेका छन् भने ११ जना शिक्षक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको अध्यक्ष न्यौपानेले बताए । सहकारीतर्फ ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बिर्तामोड २ मा संस्थाको नाममा १० कठ्ठा जग्गा रहेको जनाउँदै २ करोड रुपैयाँको बिभिन्न कोष रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । 

२०७९/०८० मा ११ औं बर्षसम्म आइपुग्दा ४ हजार ७ सय २० जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३ करोड ४९ लाख ८१ हजार रुपैयाँ भएको जनाइएको छ । संस्थाले ५ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।