लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरगत चाडपर्वलाई मध्यनजर गर्दै यस बर्ष एक हजार २४२ जनालाई रकम बितरण गर्ने भएको छ । 

देशकै सवैभन्दा ठूलो सहकारीका रुपमा झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको संस्थाले २७ औं बार्षिक साधारणसभाका अवसरमा सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरगत १ करोड १६ लाख ६६ हजार रुपैयाँ वितरण गर्ने भएको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । 

कार्यकारी प्रमुख गिरीका अनुसार ८१५ जना एकल महिलालाई जनही ८ हजारका दरले ६५ लाख २० हजार, पोषण भत्ता अन्तरगत ६५ बर्षमाथिका २४३ जनालाई जनही ६ हजारका दरले १४ लाख ४८ हजार, जेष्ठ नागरिक सम्मान अन्तरगत ७० बर्ष माथिका १२८ जनालाई जनही ८ हजारका दरले १० लाख २४ हजार, बृद्धबृद्धा सम्मान अन्तरगत ८१ बर्ष माथिका १० जनालाई जनही १० हजारका दरले १ लाख रुपैयाँ वितरण गरिनेछ । 

त्यस्तै दीर्घायु भत्ता ८६ बर्ष माथिका ५ जनालाई जनही २५ हजारका दरले १ लाख २५ हजार, एकल पुरुष ५८ बर्षमाथिका १४ जनालाई जनही ६ हजारका दरले ८४ हजार, असक्त तथा अपाङ्ग भत्ता १२ जनालाई जनही १० हजारका दरले १ लाख २० हजार र परिवार राहत अन्तरगत १५ जनालाई २२ लाख ३५ हजार रुपैयाँ वितरण गरिने कार्यकारी प्रमुख गिरीले बताए । 

sahara sakos 1

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लासहित छ वटा जिल्लाका ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको सहारा नेपाल साकोसले प्रत्येक बर्ष सामाजिक सुरक्षा अन्तरगत सदस्यहरुलाई रकम वितरण गर्दै आएको छ । 

संस्थाले आइतवार (आज) देखि २७ औं बार्षिक साधारणसभाको एकाईगत साधारणसभा शुरु गरेको छ । साकोसको लक्ष्मीपुर सेवाकेन्द्रले लक्ष्मीपुरमा एकाईगत साधारणसभा शुरु गरेको छ । संस्थाका सञ्चालक सदस्य भीमबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत लक्ष्मीपुर सहयोग उपसमिति संयोजक केदारसम्शेर गिरीले गरेको कार्यक्रममा अध्यक्षको प्रतिवेदन सञ्चालक सदस्य खवासले प्रस्तुत गरेका थिए । संस्थाका उपबिभागीय प्रमुख गोपाल भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा लेखा परिक्षण तथा लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका बिर्तामोड अनुगमन अधिकृत धनश्याम रायले प्रस्तुत गरेका थिए । कार्यक्रममा कनकाई–८ की वडासदस्य रिता रोका उप्रेतीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मीपुर सेवाकेन्द्र सहयोग उपसमिति सदस्य चन्द्र निरौलाले गरेका थिए । 

आर्थिक बर्ष २०७९/०८० असार मसान्तसम्ममा १ लाख ५७ हजार ६०६ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी १ अर्व ६३ करोड १४ लाख ५२ हजार १०० रुपैयाँ रहेको छ । संस्थाले यस आर्थिक बर्षमा २ अर्व २१ करोड २४ लाख ४० हजार १४० रुपैयाँ आम्दानी गरेर र १ अर्व ८१ करोड ३७ लाख ४३ हजार ५६१ रुपैयाँ खर्च गरेर खुदनाफा ३९ करोड ८६ लाख ९६ हजार ५७९ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ । 

 संस्थाले सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरगतको रकम चाडवाडलाई मध्यनजर गर्दै एकाईगत साधारणसभाबाट वितरण गर्ने जनाइएको छ । संस्थाले ६ वटा जिल्लामा हुने एकाईगत साधारणसभाबाट ३१ जना प्रतिनिधि छनौट गरेर आगामी कार्तिक १८ गते अन्तिम माइन्यूट प्रमाणिकरण गर्ने बताइएको छ । एकाईगत साधारणसभा अन्तरगत पाँचथरबाट १ जना, उदयपुरबाट १ जना, इलामबाट २ जना, सुनसरीबाट ४ जना, मोरङबाट ६ जना र झापाबाट १७ जना प्रतिनिधि छनौट हुने जनाइएको छ ।