बिर्तामोड । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दुई जना पत्रकारसहित सात जनालाई सम्मान गरेको छ । संस्थाले १३ औं वार्षिक साधारणसभा अन्तरगत मुल माइन्यूट प्रमाणित सभाका अवसरमा शनिवार(आज) बिर्तामोडमा उनीहरुलाई सम्मान गरेको हो । 

पत्रकार लक्ष्मी उप्रेती र युवराज विवश (पौडेल) लाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ  भने संस्थाको झापा सेवाकेन्द्र अन्तरगत अन्जु प्रधान, इलाम जिल्ला सेवाकेन्द्र अन्तरगत तीर्थराज सुवेदी र मोरङ जिल्ला सेवाकेन्द्र अन्तरगत मोहन घिमिरेलाई जनही नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा शनिश्चरे सेवा अन्तरगतका मित्र घिमिरेलाई नगद ५ हजार र स्वेच्छिक अवकाश सम्मान अन्तरगत दुर्गा पौडेललाई नगद २ लाख २५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । 

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी पवित्रा महतरा प्रसाईले सम्मानीत ब्यक्तित्वहरुलाई सम्मान गरेकी थिइन् । स्वागत संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग प्रमुख प्रेम बस्नेत (बिजय) ले गरेका थिए । 

simrik 1

 झापामा २७, इलाममा १२, मोरङमा १० र पाँचथरमा एउटा सेवा केन्द्र गरी ५० वटा सेवा केन्द्रमार्फत  सेवा प्रदान गर्दै आएको संस्थाले गत असोज ७ गतेदेखि साकोसका सेवा केन्द्रमा इकाईगत साधारणसभा शुरु गरेको थियो । 

आर्थिक बर्ष २०७९/०८० असार मसान्तसम्ममा ५९ हजार २६३ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३१ करोड ७६ लाख ५८ हजार ६०० सय रुपैयाँ रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले यस बर्ष ५ करोड ७९ लाख २८ हजार ३३४ रुपैंयाँ नाफा गरेको जनाइएको छ । २०६७ साल चैत्र ३ गते  स्थापना भएको संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति गरेको छ ।  

संस्थाका अध्यक्ष सुवास भट्टराईले आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धी हासिल गर्न नसकिए पनि संस्थाले आफ्ना सबै सेयर सदस्यहरुलाई ६ दशमलव ८३ प्रतिशत शेयर बोनस वितरण गर्ने तथा सक्रिय कारोबारी सदस्यहरुलाई ९२ लाख ११ हजार ७२१ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता गर्ने प्रस्ताव प्रतिवेदन मार्फत जानकारी दिएका छन् । 

संस्थाले वितेको एक वर्षमा मात्रै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३७५ रुपैयाँ खर्च गरेको अध्यक्ष भट्टराईले बताएका छन् । संस्थाका कार्यकारी प्रमुख बस्नेतले सदस्य तथा तीनका परिवारलाई  जन्मदेखि मृत्युसम्ममा हरेक कार्यमा सिम्रिक साकोसले सहयोग गर्दै आएको जानकारी दिएका छन् ।