मानेभञ्याङ । 

जर्जियन एफसी कालेम्पोङ ७ औ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेकोे छ । १२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकत्तालाई ७–५ गोल अन्तरले हराउँदै कालेम्पोङले अन्तिम ८ मा स्थान बनाएको हो । खेलका सुरुवाती अग्रता कालेम्पोङले बनाएको थियो ।

७ औ मिनेटमा कुन्जमान थापाले पहिलो गोल गरेका थिए । ४ मिनेट नवित्दै उनले व्यक्तिगत दोश्रो गोल गरे । २३ औ मिनेटमा बसन्त राईले गोल गरेपछि कालेम्पोङले अग्रता ३–० बनाएको थियो ।

३२ औ मिनेटमा कोलकत्ताका मिथुन शाहले गोल गर्दै अन्तर ३–१ मा झारे । ४५ औ मिनेटमा कालेम्पोङका सिलास लेप्चाले गोल गरे । २ मिनेट नवित्दै  मिथुनले व्यक्तिगत दोश्रो गोल गरेपछि अन्तर ४–२ झरेको थियो । ४९ औ मिनेटमा कुन्जमानले ह्रयाट्रिक पुरा गरे ।

२ मिनेट लगतै कुन्जमानले व्यक्तिगत चौथो गोल गरेपछि कालेम्पोङले गोल अन्तर ६–२ बनाउन सफल रहयो । कप्तान प्रनभ मुखियाले ५४ औ मिनेटमा कालेम्पोङका लागि सातौ गोल गरे । त्यसपछि कोलकत्ताले खेलमा फर्कने प्रयास गरेको थियो ।

६० औ मिनेटमा मिथुनले ह्रयाट्रिक पुरा गरे । ७० औ मिनेटमा मिथुनले व्यक्तिगत चौथो गोल गरे । इन्जुरी समयमा सव्स्टिच्युट खेलाडी बपन बेराले गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन् ।

खेलको म्यान अफ दि म्याच विजेता टोलीका कुन्जमान घोषित भए । प्रतियोगितामा शुक्रबार पहिलो खेलमा सिरिजंघा स्र्पोटिङ क्लब भद्रपुर र मोहम्मडन एथ्लेटिक क्लब कोलकत्ता विच हुनेछ । दोश्रो खेलमा हिमालयन शेर्पाले कञ्चनजंघा एफसी सिलिगुडी संग खेल्नेछ ।