बिर्तामोड । 

नेपाली महिलाहरुको महान पर्वका रुपमा रहेको हरितालिका तीजको अवसर पारेर झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित नाडियाबारीमा गन्धर्व सजकहरुसँग तीज बिशेष सांस्कृतिक कार्यक्रम भएको छ । 

७ बर्षदेखि निरन्तर रुपमा तीज मिलन कार्यक्रम गर्दै आएको काली माता मठमन्दिर ब्यवस्थापन समितिले यस बर्ष (आज) सोमबार गन्धर्व सर्जकहरुसँग तीज बिशेष सांस्कृतिक कार्यक्रम गरेको हो । 

काली माता मठमन्दिर ब्यवस्थापन समिति, आदर्श नव युवा क्लब, आदर्श किर्तन मण्डली, आशिर्वाद किर्तन मण्डली र हरिहर किर्तन मण्डलीको संयुक्त आयोजनामा तीज बिशेष कार्यक्रम गरिएको हो । 

काली माता मठमन्दिर ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रविन बुढाथोकीको अध्यक्षतामा भएको तीज बिशेष कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । 

tij bi

स्वागत मन्दिरका सल्लाहकार तथा आदर्श युवा क्लवका संस्थापक अध्यक्ष काजी बुढाथोकीले गरेको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख संग्रौला, बिर्तामोड–९ का कार्यबाहक वडाध्यक्ष केशव बुढाथोकी, आदर्श किर्तन मण्डलीकी अध्यक्ष अम्बिका कटुवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । बत्ताहरुले तीज नेपाली महिलाहरुको महान तथा सांस्कृतिक झल्काउने पर्व भएकाले यसलाई तडकभडक भन्दा पनि सांस्कृतिक रुपले मनाउनु पर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन मन्दिर ब्यवस्थापन समितिका सचिव जगत कटुवालले गरेका थिए । 

कार्यक्रममा पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्व, श्यामकुमार गन्धर्व, लालबहादुर गन्धर्व, सुजन गन्धर्व र तारा गन्धर्वले आफ्नो संस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । त्यस्तै व्रतालु महिलाहरुले पनि बिभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । 

आज झापाका बिभिन्न स्थानमा रहेका शिवालय मन्दिर तथा अन्य मठमन्दिरमासमेत श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बसेका ब्रतालु महिलाहरुले पनि बिभिन्न सांस्कृतिक कार्यक्रम गरी तीज पर्व मनाएका छन् ।