चारपाने । 

एकता स्पोर्टिङ क्लबले ‘दोस्रो एकता स्पोर्टिङ गोल्डकप २०८०’ आयोजनाको तयारी थालेको छ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेको उक्त क्लबले आगामी असोज २५ देखि कार्तिक ३ गतेसम्म आयोजना गर्ने गोल्डकपको तयारी शुरु गरेको हो । 

क्लबले शनिवार (आज) चारपानेमा पत्रकार भेटघाटको आयोजना गरी दोस्रो एकता स्पोर्टिङ क्लब टुर्नामेन्ट २०८० का बारेमा जानकारी दिएको हो । झापा जिल्ला भरका नाम चलेका आठ वटा क्लबहरुको सहभागीतामा खुल्ला प्रतियोगिता हुने क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए । बिर्तामोड–२ स्थित वीरअमरसिंह माविको खेल मैदानमा प्रतियोगिता हुने जनाइएको छ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख एक हजार एकसय ११ रुपैयाँ र दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक क्लबले जनाएको छ । प्रतियोतिाका प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद एकहजार र फाइनल खेलमा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड, उत्कृष्ट कोचर, उत्कृष्ट हाईस्कोर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । 

club

प्रतियोगिता सम्पन्न गर्न अनुमानित १२ लाख २६ हजार ६६६ रुपैयाँ खर्च हुने आयोजक क्लबले जनाएको छ । उक्त खर्च प्रायोजक, संघ, संस्था, उद्योग, ब्यवसायी खेलप्रेमीहरु, नगरपालिका, गाउँपालिका, वडा कार्यालयलगायतबाट संकलन गरिने अध्यक्ष पौडेलले जानकारी दिए । प्रतियोगिताबाट २० लाख रुपैयाँ आम्दानी गरेर खर्च कटाएर रहेको रकमले खेलाडीलाई प्रशिक्षण दिइने अध्यक्ष पौडेलले बताए ।  

योग्य खेलाडी उत्पादन गर्ने, प्रतियोगिताका माध्यमबाट क्लबलाई देश तथा बिदेशमा चिनाउने, फुटवलको हब बनाउने, अण्डर १२ फुटबल, प्रशिक्षण गराउने, युवाहरुलाई फुटबल खेलप्रति उत्प्रेरितलगायतका उदेश्य राखेर प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । 

क्लबले हाल ६ देखि १०, ११ देखि १६, १६ बर्षदेखि माथि र एउटा महिलाको समुह गरी लगभग ७०/७५ जनालाई फुटवल प्रशिक्षण दिइरहेको जनाएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा बिर्तामोड–२ खेलकूद समिति अध्यक्ष कमला लिम्बु, क्लबका टेक्नीकल समिति अध्यक्ष माधव खरेल, टेक्नीकल समिति सदस्य  मोहनप्रसाद कोइराला,  आर्थिक समिति सदस्य गोबिन्द गिरी, सचिवालय सदस्य खेमराज गिरी, रमेश उप्रेती, राजन सिलवाल, देबी काफ्लेलगायतको उपस्थिति रहेको थियो ।