• चन्द्र बस्नेत 

कनकाई । 

डेंगु सङ्क्रमितको सङ्ख्या तिव्र रुपमा  बढेपछि झापाको कनकाई नगरपालिका बिहीबारबाट डेंगी नियन्त्रण अभियानमा जुटेको छ। डेंगी  ‘खोज र नष्ट गर’ अभियानमा नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाको सभा हलमा एक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेसँगै नगरका वडाहरुमा डेंगी विरुद्धको अभियानलाई तिब्रता दिएको छ।

नौ वटा वडा रहेको कनकाईमा डेंगी सङ्क्रमितको सख्या बढन थालेसँगै बिहीबार  वडा न ४ र ८ का प्रत्येक बाटो, चोक गल्ली तथा घर–घरमा पुगेर  सचेतना मुलक र्यालिसहित औषधी छिट्ने काम शुरु गरिएको  कनकाईका जनस्वास्थ्य अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

वडा नं.४ मा वडाध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा साथै वडा नं.८ मा वडाध्यक्ष लीलावहादुर कटुवालको अध्यक्षतामा अभियानको सुभारम्भ भएको नगरपालिकाकी स्वास्थ्यकर्मी टिकामाया दवाडीले जानकारी दिइन् ।

कनकाईमा यो वर्ष नमुना चेक गरेका मध्ये ३२ जनामा संग्क्रमण पुष्टि  भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको जानकारी दिए । उनले डेंगी नियन्त्रणका लागि सबै वडामा अभियान चलाउने भन्दै  सबैले आ–आफ्नो घर वरिपरि सरसफाइमा ध्यान दिने लामो बाउला भएका कपडा लगाउने  साथै झुलको प्रयोग गरेर मात्रै सुत्ने सम्पूर्ण नगर बासिमा आग्रह समेत गरे । नगर प्रमुख पोखरेलले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगी सङ्क्रमण बढिरहेको बताए । 

नगर प्रमुख पोखरेलले डेंगी सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा संचित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना सञ्चालन शुरु गरिएको बताए । उनले डेंगी सङ्क्रमण बढ्दै गए भदौ र असोजमा निक्कै उच्च हुने जिकिर गरे । डेंगी रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले अघिल्ला वर्षाहरु झैं यस पटक फगी स्प्रे (धुँवा उढाउँने काम) नगर्ने जानकारी उनले जानकारी दिए  । ‘खोज तथा नष्ट गर’ अभियान टोल टोलमा सञ्चालन गरिने जानकारी दिँदै कनकाई नगरपालिका जनस्वास्थ्य प्रमुख नारायण अधिकारीले ज्वरो आउने वित्तिकै स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाहबिना कुनैपनि औषधी नखान नगरबासीलाई आग्रहगरेका छन् । 

डेंगी नियन्त्रण अभियानमा नगर प्रमुख पोखरेल, वडा न ४ का अध्यक्ष रोषन सुवेदीसहित अन्य वडा सदस्य, टोल विकास सस्थाका पदाधिकारी, नगर स्वास्थ्य  शाखाका कर्मचारी, वडा न ८ का वडाध्यक्ष लीलाबहदुर कटुवालसहित अन्य वडा सदस्य, टोल विकास सस्थाका पदाधिकारीसहितको टोलिले औषधी छिट्ने अभियानमा लागि परेका छन् । शुक्रबार वडा न २ मा उक्त अभियान संचालन गरिने वडाध्यक्ष वलराम राई (प्रतापले) जानकारी दिए।

कनकाई नगरपालिकाले सबै जसो वडाहरुमा डेगीं पहिचान गरेर नष्ट गर्ने र घर घरमा सन्देश पु¥याउनको लागि विद्यालय, स्वास्थ्यकर्मीलगायत सरोकारवाला निकायहरुसंँग छलफल अन्तरक्रिया कार्यक्रमहरु समेत सञ्चालन गर्दै अघि बढ्ने कर्मचारी विजय पाठकले जानकारी दिए ।

नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बिहीबार साँझसम्ममा नेपालमा  यसवर्ष अहिलेसम्म १० हजार सात सय २६ जनालाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । अहिलेसम्म ९ जनाले ज्यान गुमाएका तथ्याङ्कले देखाएको छ ।