अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले पशुमा ‘लम्पी स्किन रोग’ विरुद्धको भ्याक्सिन लगाउने भएको छ । नगरको पशुपन्छी तथा मत्स्य विकास शाखा अन्तरगत महामारीको रूपमा पशुमा फैलिरहेको ‘लम्पी स्किन रोग’ बिरुद्धको भ्याक्सिन लगाउने भएको हो । 

नगरले आइतवार सूचना जारी गर्दै सोमवार आजदेखि भदौं ११ गतेसम्म नगरका ११ वटै वडाहरुमा भ्याक्सिन लगाउने जनाएको छ । 

कार्यपालिकाको गत शुक्रवार भएको निर्णय अनुसार लागत साझेदारीमा लम्पी स्किन रोगको भ्याक्सिन लगाउने भएको हो । साउन २२ गते वडा नम्बर ९ बाट शुरु हुने भ्याक्सिन अभियान आगामी भदौं ११ गते वडा नम्बर २ मा पुगेर सम्पन्न हुने सूचना जारी गरि जनाएको छ । 

वडाले जारी गरेको सूचना अनुसार आ–आफ्नो वडाको अध्यक्ष, जनप्रतिनिधि र पशुपन्छी तथा मत्स्य विकास शाखामा भ्याक्सिनका लागि सम्पर्क गर्न सकिनेछ । नगरले जारी गरेको सूचनामा प्रत्येक वडामा भ्याक्सिन लगाउने मिति, वडा, समय, लाग्ने दस्तुर समेत खुलाइएको छ ।