खोटाङ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि आएको सोलार प्यानल नगर प्रमुखका आफन्तलाई वितरण गरिएको पाइएको छ । बिपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाईले आफुखसी आफन्तलाई वितरण गरेका भन्दै आलोचना शुरु भएको छ । 

नगर प्रमुख विमला राईले गत साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पुयाएको २२ थान सोलार प्यानल सोही दिन उनका कान्छा भाइ रोजचन्द्र राईले वडाध्यक्षलाई समेत जानकारी नदिई आफ्नो टोलका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना सुरु भएको हो ।

वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गरेका छन् । 

च्यास्मिटारको साविक नौवटै वडाका विपन्न परिवारका लागि भनेर खरिद गरिएको सोलार प्यानल नगर प्रमुख राईका भाइ रोजचन्द्रले साविकको तीनवटा वडामा मात्र आफूखुसी वितरण गरेको पाइएको छ । साविकको वडा नं ६ भाग्रामा १५, वडा नं ३ सार्पामा पाँच र वडा नं ४ दाल्फुमा दुईवटा वितरण गरेको पाइएको हो ।

विपन्न परिवारका लागि खरिद गरिएको सोलार प्यानल वडामा ल्याउनुअघि च्यास्मिटारका लागि ११ वटा कोटा रहेको नगरपालिकाको जिन्सी शाखाबाट जानकारी आएको समेत वडाध्यक्ष राईले बताएका छन् । 

नगर प्रमुख राईका भाइ रोजचन्द्रले भने नगरपालिकाले उपलब्ध गराएको सोलार प्यानल आवश्यकताका आधारमा वडा कार्यालयका कर्मचारीको रोहबरमा विपन्न परिवारका लागि वितरण गरेको बताएका छन् ।