बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाले बिर्तामोड–४ की सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो ।
संस्थामा नियमित कारोवार गर्दै आएकी भट्टराईको गत चैत २४ गते क्यान्सर सम्वन्धी रोगका कारण मृत्यु भएको थियो । महिला उद्यमी समूहको सदस्य समेत रहेकी भट्टराईको मृत्युपछि संस्थामा तिर्न बाँकी देखिएको एकलाख ८० हजार एक सय ५५ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । कर्जा मिनाहासँगै भट्टराई परिवारलाई मृत्यु संस्कार राहतवापत २० हजार रुपैयाँ प्रदान गरिएको छ । संस्थाका तर्फबाट प्रवन्धक शैलेन्द्र मेन्याङ्वो र सुशिला ढकालले भट्टराईका श्रीमान् ऋषिराम खतिवडालाई कर्जा मिनाहाको पत्रसहित राहत रकम हस्तान्तरण गरेका छन् ।
ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा दिने शिक्षा बहुउद्देश्यीय सहकारीको नीतिले पीडित परिवारलाई धेरै राहत मिलेको अनुभव गरेको खतिवडाले बताए । एक साताअघि पनि शिक्षा बहुउद्देश्यीयले झापाको धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि उनले तिर्न बाँकी एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गर्दै राहतवापत १५ हजार रुपैयाँ प्रदान गरेको थियो ।