जलथल ।
जलथल एफसी झापाको हल्दिबारी–३ मा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पञ्चायत माविको खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा गोलधाप एफसीलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै जलथलले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।
जलथलका लागि खमिर गिल्सन कन्दङ्वाले गरेको गोलनै निर्णाक बनेको थियो । खेलको सुरुवातीमै जलथलले आक्रामक खेल पस्केको थियो । प्रतिस्पर्धात्मक खेलमा गोलधापले पाएको थुप्रै अवसर खेर गएको थियो ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा दायाँ क्षेत्रबाट आएको पासलाई खमिर गिल्सनले गोलमा परिणत गराएका थिए । उनी म्यान अफ दी म्याच बने ।जितसँगै जलथलले बिर्तामोडस्थित खोपबाडीको न्यू स्टार एफसीसँग फाइनल भेट पक्का गरेको छ । हल्दिबारी ३ को ढडुवा एफसीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शुक्रबार (आज) हुनेछ ।