झापा । 

बैदेशिक रोजगार ब्यवसायीका समस्या बारेमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ध्यानाकर्ष गराएको छ । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या पाँच बुँदामा समेटेर अवगत गराउँदै शुक्रवार समाधानका लागि ध्यानाकर्षण गराएको हो । 

 संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वको टोलीले संयुक्त प्रतिनिधि मण्डलले सचिव डा.अर्याल र प्रधानमन्त्रीका सल्लाहकार गजुरेललाई छुट्टाछुट्टै भेटेर वैदेशिक रोजगार क्षेत्रमा रहेका समसामयिक समस्या तथा त्यसको समाधानका बारेमा विस्तृत रूपमा छलफल गरेको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । 

संघले युरोपेली मुलुकसहितमा मागपत्र प्रमाणीकरण सहजीकरण, इजाजतपत्र नवीकरणका लागि वार्षिक सय जना कामदार पठाउनै पर्ने बाध्यकारी नीतिले पारेको नकारात्मक असर, सेवा शुल्क परिमार्जन, घरेलु कामदारको श्रम स्वीकृति र जापानमा एसएसडब्लु प्रणालीमा कामदार पठाउने प्रक्रियाका सम्बन्धमा अन्तरक्रिया गरेको संघले जनाएको छ ।