अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले नगरका ४४ वटा कृषक समुहलाई कृषि औजार वितरण गरेको छ । नगरका कृषक समुह, कृषि सहकारी र कृषि फर्महरुलाई शुक्रवार (आज) नगरपालिकाको कार्यालय परिसरमा कृषि औजार वितरण गरिएको हो ।

अर्जुनधारा नगरको कृषि विकास शाखाले साना कृषि औजार वितरण कार्यक्रमको आयोजना गरी कृषि औजार वितरण गरेको छ । नगरले मकै छोडाने मेशिन ३२ थान, कुटानीपिसानी मिल ११ थान, मिनी टिलर ९ थान, ब्रसकटर १ थान, पावर डिलर १ थान र हाते धान रोप्ने मेशिन १ थान गरी जम्मा १४ लाख ७ हजार ५०० रुपैयाँको कृषि औजार वितरण गरेको कृषि प्राविधिक मिना अधिकारीले बताइन् ।

aujar

नगरको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषि औजार वितरण गरिएको हो । कार्यक्रममा अर्जुनधारा नगरका नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडा नं. ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीलगायतले कृषकलाई कृषि औजार हस्तान्तरण गरेका थिए । 

नगर प्रमुख बलदेबको अध्यक्षतामा भएको कार्यक्रममा कृषक सन्तमान तामाङले नगरबाट प्राप्त कृषि औजार सहि सदुपयोग गरेर प्रयोग गर्ने र गर्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन प्राविधिक उर्मिला राजवंशीले गरेकी थिइन् ।