झापा । 

पूर्व र अन्तिम श्रम स्वीकृति दिने तयारीमा रहेको वैदेशिक रोजगार विभागले त्यसका लागि तीनदिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँगको सहयोगमा असार १३ देखि १५ गतेसम्म काठमाडौंमा अटोमेसन सञ्चालन सम्बन्धमा विज्ञबाट व्यवसायीलाई प्रशिक्षण दिने तयारी गरेको हो । 

प्रशिक्षणमा म्यानपावर कम्पनीका एक जना सञ्चालक तथा दुई जना कर्मचारीलाई सहभागी गराइने तयारी गरिएको छ । प्रशिक्षण अनुपम फुडल्याण्डमा हुने बताइएको छ ।आगामी आर्थिक वर्षको प्रारम्भ अर्थात साउन १ गतेदेखि स्वचालित प्रणाली (अटोमेसन) मार्फत तालिम दिन लागिएको हो । 

विभागले श्रम स्वीकृतिको सबै अधिकार व्यवसायीलाई दिने र गलत गरेमा लाइसेन्स खारेजीसम्मको कारबाही गर्ने बताएको छ । त्यसैले पनि प्रशिक्षण महत्वपूर्ण भएकोले सबै व्यवसायीले हेलचेक्राई नगरी प्रशिक्षणमा सहभागी हुनु आवश्यक रहेको जनाइएको छ ।  प्रशिक्षणमा कर, कानूनलगायतका विषयमा पनि जानकारी गराइने छ । 

अटोमेसन प्रणाली कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनीका सञ्चालक वैदेशिक रोजगार कार्यालयहरूमा जानु नपर्ने विभागको भनाइ छ । उक्त प्रणालीबाट काम शुरू भए श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीहरूले मात्रै गर्ने विभागले जनाएको छ ।