भद्रपुर ।
गत बैशाखमा सम्पन्न १३ औं राष्ट्रपति रनिङ शील्ड राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने झापाका खेलाडीहरुलाई थप हौसलाका लागि जिल्ला खेलकुद विकास समिति झापाले मंगलबार सम्मान गरेको छ ।
मेची रंगशालास्थित कबर्ड हलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुदमा एथलेटिक्सको ट्रिपलजम्पतर्फ स्वर्ण पदक विजेता राजिव ढुंगानालाई नगद पाँच हजार, पुरुष कबड्डीमा सहभागी भई रजत पदक विजेता अमन ताजपुररिया र आदर्श सहनीलाई नगद तीन हजार, महिला कबड्डीमा सहभागी भई कास्य पदक विजेता मनमाया तामाङ, राधिका कुमाल र सविना मावो, करातेमा कास्य पदक विजेता पुस्चल रामदान र समिर मगरलाई दुई हजार नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको थियो ।
जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकायका प्रमुख, खेलाडी एवम् एवम् खेलकुदसँग सम्बन्धित व्यक्तित्हरुको उल्लेख्य सहभागितामा आयोजित सोही समारोहका बीच खेलकुदको विकास, सम्बद्धृन र संरक्षणमा उल्लेख्य योगदान पुर्याएकोमा समितिले भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगर खेलकुद विकास समिति, भद्रपुर झापा गोल्डकप, झापा गोल्डकप र सहारा नेपाल साकोसलाई पनि सम्मान गरेको थियो ।
भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाको तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाको तर्फबाट किरण श्रेष्ठ, कनकाई नगर खेलकुद विकास समितिको तफृबाट समितिका अध्यष जविन तिम्सिना, भद्रपुर झापा गोल्डकपका तर्फबाट अध्यक्ष दिपेश ढकाल, झापा गोल्डकपका तर्फबाट अध्यक्ष विनोद वस्नेत र सहारा नेपाल साकोसका तर्फबाट अध्यक्ष हरि राजवंशीले सम्मानपत्र ग्रहण गरेका थिए ।