झापा ।
वैदेशिक रोजगार विभागले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न शुरु गरेको छ । विभागले इजाजतपत्र नवीरकरण गर्न लागि व्यवसायीलाई वैदेशिक रोजगार ऐन तथा नियमावलीले अनिवार्य गरेका कागजातसहित अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको छ ।
विभागले इजाजतपत्र नवीरकण गर्नका लागि वैदेशिक रोजगार व्यवसायीहरुलाई निवेदनका साथमा नवीकरण दस्तुर बुझाएको भर्पाइ, इजाजतपत्रको अगाडि पछाडिको प्रतिलिपि, कम्पनी दर्ताको प्रमाणपत्र, आयकर दर्ताको प्रतिलिपि, गत आर्थिक वर्षको कम्पनी अध्यावधिक, गत वर्षको कर बुझाएको कर चुक्ता प्रमाणपत्र पेश गर्न समेत आग्रह गरेको छ ।
बिभागले आर्थिक वर्ष २०७९/०८० मा पूर्व श्रम स्वीकृति लिएको संख्या, अन्तिम श्रम स्वीकृति लिएको संख्या, पठाएका कामदारको संख्या, आर्थिक वर्ष २०७८/०७९ मा कम्तीमा एक सय जना कामदार पठाएको विवरण, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, कम्तीमा एक वर्ष अवधि बाँकी रहेको बैंक ग्यारेन्टी पत्रलगायतका कागजपत्रसहित पेस गरिएका कागज ठिक साँचो हो, झुटा ठहरिए कानूनबमोजिम सहुँला बुझाउँला भनी सहीछाप गरी असार मसान्तसम्म अनलाइनमार्फत पेस गर्न सूचनामा उल्लेख छ ।
विभागमा दर्ता रहेका ८ सय ९० म्यानपावर कम्पनीमध्ये करिब एक चौथाइ म्यानपावर कम्पनीले नवीकरणका लागि आवश्यक पर्ने वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिइ नसकेको बताइएको छ ।