झापा ।
मलेशियामा बैदेशिक रोजगारका लागि जाने कामदारको संख्या घट्दै गएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया जाने क्रम गत कात्तिकदेखि घट्न थालेको हो । कार्तिक महिलादेखि वैशाख महिनासम्म क्रमश मलेशिया जाने नेपाली कामदारको संख्या घट्दै गएको तथ्याङ्कले देखाएको छ । जेठ महिनामा विदेश जान श्रम स्वीकृति लिने कामदारको संख्या भने सार्वजनिक भएको छैन ।
कात्तिक महिनाको तुलनामा वैशाख महिनामा रोजगारीका लागि मलेसिया जाने क्रम ५५ प्रतिशतभन्दा बढीले घटेको छ । गत कात्तिकमा २५ हजार ३ सय ४० नेपाली कामदार गएको मलेसियामा वैशाख महिनामा ११ हजार ३ सय १० जना मात्र संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत गएका छन् ।
६ महिनाको संस्थागत श्रम स्वीकृति विवरण अनुसार कात्तिक २५,३४०, मंसिर २०,३८८, पुस १६,७२९, माघ १६,६२९, फागुन १६,००७, चैत १२,११३ र वैशाख ११,३१० जना मलेशिया गरेको तथ्याङ्कले देखाएको छ । जसमा प्रत्येक महिना रोजगारीका लागि जानेको संख्या घट्दो देखिएको छ ।
मलेसियाले विदेशी कामदारको आवेदन र स्वीकृति प्रक्रिया गत चैत ६ गतेदेखि स्थगित गरेको छ । मलेसियाले गत मार्च १४ तारिखसम्म विभिन्न क्षेत्रका लागि ९ लाख ९५ हजार ३ सय ९६ जना विदेशी कामदारको रोजगारी कोटालाई मन्त्रालयले स्वीकृत गरेको भन्दै रोजगारी राहत योजना (पीकेपीपीए) मार्फत विदेशी कामदारको कोटा आवेदन र स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको थियो ।
हाल मलेसियाले उत्पादन, निर्माण, वृक्षरोपण, कृषि र सेवा (रेस्टुरेन्ट) मात्र गरी पाँच क्षेत्रमा विदेशी कामदारको आवेदनहरू स्वीकृति स्थगन गरेको छ ।