बिर्तामोड ।
इलामको माई नगरपालिकास्थित दानाबारीमा हुने २० वर्षमुनिको राष्ट्रिय रग्बी प्रतियोगिताको हुने भएको छ । नेपाल रग्बी संघले बिहीवार (आज) झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । पुरुष तथा महिला दुवै तर्फको खेल शुक्रबार र शनिबार माई नगरपालिका वडा नं. ४ दानाबारीस्थित शुक्रवारे बजारको खैल मैदानमा हुने भएको आयोजकले जनाएको छ ।
दुवैतर्फको खेलमा पाँच–पाँच टिमको सहभागिता रहने रग्बी संघ कोशी प्रदेश अध्यक्ष विनोद कटुवालले जानकारी दिए । प्रतियोगितामा हिमालयन टाइगर रग्बी क्लब, हेटौँडा रगर्स, कटारी रग्बी क्लब, कर्णाली रग्बी क्लब र बर्दिबास रग्बी क्लबको सहभागिता रहने उनले बताए ।
प्रतियोगिता रग्बीको यु–२० राष्ट्रिय टोली छनोट खेल पनि भएको कटुवालले जानकारी दिए । इलामबाट छनोट भएका खेलाडीले अगस्ट १९ र २० मा हुने एसियन खेलमा राष्ट्रिय टोलीबाट सहभागिता जनाउने छन् । प्रतियोगिता सेभेन ए साइड संरचना अनुसार सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १३ लाख रुपैयाँ खर्च हुने र उक्त खर्च नेपाल रग्बी संघले व्यहोर्ने उनले बताए ।
नेपाल रग्बी संघको आयोजना रहने प्रतियोगिताको संयोजन प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी संघले गर्नेछन् । केन्द्रीय स्तरबाट इलाममा आयोजना भएको यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो । नेपालले यसअघि २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको थियो । त्यसपछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो ।
नेपाल रग्बी संघले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालनका साथै घरेलु प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेको छ । गत भदौमा एसिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारिसपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो । पत्रकार सम्मेलनमा संघका प्रशासन प्रमुख बासुदेब घिमिरे, झापा अध्यक्ष महेन्द्र खनाललगायतको पनि उपस्थिति रहेको थियो ।