झापा । 

वैदेशिक रोजगार विभागले  मुख्य उदेश्य कामदारको सुरक्षा, व्यवसायी तथा विभागको प्रतिष्ठा अभिवृद्धि रहेको जनाएको छ । बिभागका महानिर्देशक  मदन दहालले कामदारको सुरक्षा, व्यवसायी तथा विभागको प्रतिष्ठा अभिवृद्धिमा साथ दिने  ब्यवसायीलाई आग्रह गरेका छन् । 

महानिर्देशक दहालले वैदेशिक रोजगार व्यवसायीहरूले बेरोजगार युवायुवतीलाई रोजगारी प्रदान गरी रेमिट्यान्स आप्रवाहमा ठूलो योगदान दिएपनि वैदेशिक रोजगार क्षेत्र, व्यवसायी र विभागको योगदानअनुसारको सामाजिक प्रतिष्ठा नभएका कारण प्रतिष्ठा आर्जन गर्न मिलेर काम गर्नुपर्ने बताए ।

महानिर्देशक दहालले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालबाट झुटो प्रलोभनका अनधिकृत विज्ञापन गरेर रोजगार आकांक्षी युवायुवतीलाई स्वदेशमा नै ठग्ने तथा विदेशमा पु¥याएर अलपत्र पार्ने क्रम अनपेक्षितरुपमा वृद्धि भएको भन्दै त्यस सम्बन्धमा छानबिन भइरहेको बताए । उनले मोबाइलमा अनधिकृत विज्ञापनका सयभन्दा बढी कटिङ छन्, गृह मन्त्रालयसँगको सहकार्यमा उनीहरूलाई कारबाही गर्ने योजना बनिरहेको जानकारी दिए । गैरकानूनी काम गर्ने सबैलाई कारबाही गर्ने,  केही व्यवसायीले समेत गैरकानूनी काम गरेको प्रमाण फेलापरेकाले उनीहरू पनि कारबाहीको घेरामा रहेको उनको भनाई छ । 

 लामो समय कर प्रशासनमा काम गरेका महानिर्देशक दहालले विभागले सञ्चालन गरिरहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को क्षमता बढाएर स्वचालित प्रणालीका आधारमा श्रम स्वीकृति दिने व्यवस्था गर्ने आफ्नो सोच रहेको बताएका छन् ।