झापा । 

खाडीका विभिन्न मुलुक तथा मलेसियामा प्रचण्ड गर्मीबाट कामदारलाई जोगाउन विशेष सतर्कता अपनाउन रोजगारदाता कम्पनीलाई विशेष निर्देशन दिइएको छ । खाडी मुलुकहरूमा अत्यधिकरूपमा गर्मी बढेपछि दिउँसो १ बजेदेखि ४ बजेसम्म खुला ठाउँमा काम गर्न निषेध गरिएको हो ।  सरकारी निर्णय उल्लंघन गर्ने रोजगारदाताहरूलाई ठूलो रकम जरिवानासहित कडा कारबाही गर्ने निर्देशन जारी गरिएको छ ।

 खाडी मुलुकहरूमा झण्डै ११ लाख नेपाली कार्यरत रहेको आंकलन छ । विगत वर्षहरूका तथ्यांक हेर्दा जुनदेखि अगस्टसम्म गर्मीका कारण बढी मात्रामा नेपाली कामदारको ज्यान जाने गरेको छ । खाडी मुलुकमा गर्मी याममा पानी नपर्ने, अत्यधिक तातो हावा चल्ने, धुलो उडेर जनस्वास्थ्यमा गम्भीर असर पार्ने गरेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

दिउँसो कार्य क्षेत्रमै आराम गर्ने कामदारहरूको शरीरको अत्यधिक नुन पसिनाबाट बग्दा कामदार कार्यस्थलमै ढल्ने, बेलुका क्याम्पमा पुग्दा शरीर नुनिलो पसिनाले सेतै भइसक्ने कामदारहरूको भनाइ छ ।

यता खाडी मुलुकको तुलनामा राम्रो हावापानी रहेको मलेसियामा पनि तापक्रम पछिल्ला दिनमा लगातार ३५ डिग्री नाघेपछि त्यहाँका ८ जिल्लामा निर्माण मजदुरको स्वास्थ्यमा ध्यान दिन विशेष सर्कुलर जारी गरिएको छ । 

कन्स्ट्रक्सन कम्पनीहरूलाई कार्यस्थलमा आराम गर्न छायाँयुक्त स्थल, पिउने पानीको प्रशस्त व्यवस्था गर्न निर्देशन दिइएकोछ । प्रत्येक वयस्क कामदारलाई दैनिक न्यूनतम ३ लिटर पानी पिउनसमेत निर्देशन दिइएको छ ।