बिर्तामोड । 

झापाको सहकारी क्षेत्रमा कुनैपनि समस्या नभएको सहकारी अभियन्ताहरुले बताएका छन् । पछिल्लो समय केही समुह र ब्यक्तिहरुले सहकारी क्षेत्रमा बेथिति बढेको भन्दै सहकारीलाई बद्नाम गर्ने, सहकारीका कर्मचारी माथि आक्रमण गर्ने जस्ता प्रयास भइरहे पनि झापाका सहकारीहरुमा बेथिति नभएको सहकारी अभियन्ताहरुले स्पष्ट बनाएका हुन् । 

राज्यले बनाएका ऐन कानुन पूर्ण कार्यन्वयन नहुनु, अहिलेको तरलता ब्यवस्थापनको लागि सहकारीहरुलाई पूर्ण सहयोग गर्न नसक्नु, स्थानीय तथा प्रदेश सरकारसँग सहकार्यको कमी, समयानुकुल नियम कानुन निर्माण हुन नसक्नुलगायतका सहकारीका  चुनौतीहरु रहेकाले त्यस्ता समस्याको समाधान खोजिन आवश्यक रहेको सहकारी अभियन्ताहरुले बताएका छन् । 

झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सकहारी संघ, जिल्ला कृषि सहकारी संघ झापाले संयुक्त रुपमा बिर्तामोडमा बुधवार (आज) सहकारीको बिद्यमान अवस्था, समस्या र चुनौती बिषयक सञ्चारकर्मीहरुबिच अभिमूखिकरण कार्यक्रममा उपस्थित सहकारी अभियन्ताहरुले त्यस्तो बताएका हुन् । 

झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण संयन्त्र झापाका संयोजक गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सञ्चालक सदस्य तथा संघका झापा बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक धनश्याम अधिकारी पारेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, चिया केन्द्रिय सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ, जिल्ला बचत तथा ऋण सकहारी संघ झापा अध्यक्ष तुलाराम न्यौपाने, जल्ला कृषि सहकारी संघ झापाका अध्यक्ष केशव सापकोटालगायतको उपस्थिति रहेको थियो । 

राष्ट्रिय सहकारी महासंघद्धारा सहकारी समस्या समाधानका लागि अघि सारेका १३ बुँदे मागपत्रसहित शान्ति सुरक्षाका कायम गर्नसमेत सहकारी अभियन्ताहरुले माग गरेका छन् ।