झापा ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्य सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ । सदस्य शिक्षा कार्यक्रममार्फत् संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो । सोही सन्दर्भमा संस्थाले बुधवार मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक सदस्यसँग सल्लाह र सुझाव लिने उद्देश्यले सदस्य शिक्षा कार्यक्रम शुरु गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिऐ । उनले अहिलेको वित्तीय संकटको अवस्थामा सहकारीबारे विभिन्न भ्रम सिर्जना भइरहेकोले सहकारी अभियानविरुद्धको भ्रम चिर्न र संस्थाको वस्तुस्थिति बारे सदस्यलाई जानकारी दिन कार्यक्रम गरेको बताए । संस्थासँग सदस्यको अपेक्षा र संस्थाको श्रीबृद्धिमा गर्नुपर्ने कामको बारेमा सुझाव लिन सदस्य शिक्षा कार्यक्रम गरिएको उनको भनाई छ ।
कार्यक्रममा सेवा केन्द्र धुलाबारीका शेयर सदस्य लक्ष्मीप्रसाद पाठक, अम्बिका कोइराला, जिना खत्री क्षेत्री, सुमिना खनाल, तरादेवी अधिकारी, शारदा ढकाल लगायतका सदस्यले संस्थाले प्रदान गर्ने सेवा सुविधा, ऋण र बचतको ब्याजदर, वित्तीय अवस्था लगायतका विषयमा जिज्ञासाराखेका थिए । साथै सदस्यहरुले आफू संस्थाबट पूर्ण सन्तुष्ट रहेको समेत बताएका थिए ।
सदस्यहरुबाट आएको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष न्यौपानेले संस्थाले प्रदान गर्ने सेवा सुविधा, ऋण र बचतमा पाइने ब्याज, संस्थाको वित्तीय अवस्था, सञ्चालक समितिले लिएको ऋणको अवस्था लगायतका बारेमा प्रष्ट पारेका थिए । उनले सदस्यले नै गरेको बचत अर्को सदस्य ऋणको रुपमा पाउने भएकाले नियमित किस्ता गर्न आग्रह गरे ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए भने स्वागत सेवा केन्द्र प्रमुख विपना तिम्सिनालेगरेका थिए । कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, लक्ष्मीप्रसाद घिमिरे, शिक्षा समिति सदस्य सन्तोष शर्मा र सेवा केन्द्र धुलाबारीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मुल कार्यालय बिर्तामोड र पाँच वटा सेवा केन्द्र धुलाबारी, धाइजन, शनिश्चरे, दुर्गापुर र चैतुबारी सेवा प्रदान गर्दै आएको शिक्षा सहकारीले क्रमशः सबै सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम गर्ने संस्थाका सचिव खतिवडाले बताए ।