बिर्तामोड । 

बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामाम शनिबारदेखि शुरु भएको प्रथम कर्पोरेट सुपरसिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाइनल संस्करणका खेल आज भइरहेको छ । 

आइतबार नै सम्पन्न गर्ने लक्ष्यका साथ तयारी गरिएतापनि बर्षा र लाइटका कारण खेल आजलाई सारिएको हो । २१ टिम सहभागी प्रतियोगितामा इकोम्याक्स, डि डब्ल्यु वान, मन्त्र थकाली र एमकेके सेमिफाइनलमा पुगेका छन् । 

पुर्व राष्ट्रिय खेलाडीहरु सहभागी रहेका ती टिमहरुको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ । यसअघि भएको क्वाटरफाइनल खेलमा इकोम्याक्सले आयोजक बिर्तामोड नगर खेलकुद बिकास समितिको टिमलाई तीन विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो । आयोजकले दिएको ४३ रनको लक्ष्य ४ दशमलब ३ ओभरमा पुरा गर्दै इकोम्याक्स सेमिफाइनमा पुगेको हो । 

त्यस्तै मन्त्र थकालीले न्यु स्टार क्रिकेट टिमलाई १० रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पुर्व राष्ट्रिय खेलाडी मेहबुब आलम सहभागी सो टिमले ४९ रनको लक्ष्य दिएकोमा न्यु स्टारले ३९ रनमात्र जोड्न सफल भएको थियो । 

त्यसैगरी डि डब्ल्यु वानले वाइट वासलाई हराउँदै सेमिफाइनलमा पुगेको छ । वाइट वासले दिएको  ६३ रनको लक्ष्य डि डब्ल्यु वानले अन्तिम बलमा पुरा गरेको थियो । अन्तिम क्वाटरफाइनल खेलमा एमकेकेले बोस्टन एकाडेमीलाई हराएर सेमिफाइनल पुगेको छ । 

आज हुदै गरेको सेमिफाइन खेलहरु इकोम्याक्स र डि डब्ल्यु वान तथा एमकेके र मन्त्र थकालीबीच हुने छ । आजै फाइनल खेल हुने आयोजक समितिका अध्यक्ष बिकास गिरीले जानकारी दिए । प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार रुपैंयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा आकर्षण बढाउन आइतबार साँझ कुटुम्ब ब्याण्डले सांगितिक कार्यक्रम प्रस्तुत गरेको थियो ।