बिर्तामोड । 

प्रबिधिमैत्री शिक्षक समाज जिल्ला समन्वय समिति झापाले शुक्रवार (भोली) देखि सूचना तथा प्रबिधि सम्बन्धि शिक्षकहरुलाई ८० घण्टे तालिम आयोजना गर्ने भएको छ । 

समाजले बिहीवार (आज)  साँझ बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी शिक्षकहरुलाई सूचना तथा प्रबिधि सम्बन्धि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको जानकारी दिएको हो । समाजले स्तरीय डिजिटल शैक्षिक सामाग्री निर्माण गर्ने उदेश्यले तालिमको आयोजना गरेको अध्यक्ष टीका सुवेदीले जानकारी दिए । 

झापाका १५ वटै पालिकाका शिक्षकहरुलाई समेट्ने गरी आयोजना हुने तालिम पहिलो चरणमा बिर्तामोड, भद्रपुर, कनकाई, शिवसताक्षी नगरपालिका र कमल र गौरीगञ्ज गाउँपालिकाका ४० देखि ५० जना शिक्षकहरुको सहभागीता रहने अध्यक्ष सुवेदीले बताए । तालिम प्रत्यक्ष रुपमा ४० घण्टा र अनलाइनमार्फत ४० घण्टा बिद्यालय बिदाको दिन पारेर दिइने उनले बताए । 

talim 3

तालिम अंग्रेजी, नेपाली, गणित, बिज्ञान र सामाजिक बिषयका शिक्षहरुलाई प्रदान गरिने समाजका झापा सचिव तीलकबहादुर गजमेरले बताए । तालिममा समाजका अध्यक्ष टीका सुवेदी र उपाध्यक्ष रणधिरकुमार सिंह प्रमुख प्रशिक्षक रहने छन् भने पालिका फोकल पर्सन प्रशिक्षकका रुपमा समाजका सचिव तीलक गजमेर, बन्दना भट्टराई, कर्मा शेर्पा, प्रेमबहादुर कटुवाल र पदम दाहाल रहने जनाइएको छ । 

भोलीदेखि शुरु हुने तालिमको उद्घाटन बिर्तामोडमा भएपनि माग तथा  आवश्यकताको आधारमा अन्य पालिकाहरुमा पनि गर्न सकिने बताइएको छ । पत्रकार भेटघाट कार्यक्रममा समाजका झापा सदस्य साजनकुमार लिम्बु र लोकनाथ ढकालको पनि उपस्थिति रहेको थियो ।