झापा ।
म्यानपावर कम्पनीहरुको शाखामा वैदेशिक रोजगार विभागले छड्के अनुगमन गरेको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिई शाखा खोलेर व्यवसाय सञ्चालन गरेको मौखिक उजुरीको आधारमा विभागले सुनसरीको इटहरीमा शुक्रवार अनुगमन गरेको हो ।
अनुगमनकै क्रममा विभागको टोलीले इटहरीको पाचँ वटा अवैध म्यानपावर शाखाहरुमा तालासमेत लगाएको छ । विभागको टोलीले एडभान्स म्यानपावर, वल्र्ड एण्ड वल्र्ड म्यानपावर, डिलक्स/परी म्यानपावर, मोभिरा एचआर ओभरसिज र ब्रिजस्काई इन्टरनेशनलमा ताला लगाएको छ । उक्त म्यानपावरका कार्यालयले विभागबाट अनुमति नलिई आफुखुसी शाखा स्थापना गरी व्यवसाय सुचारु गरेको पाइएकाले ताला लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
अनुगमनको टोली आएपछि अवैधानिक रुपमा सञ्चालित म्यानपावर व्यवसायीहरुको भागदौड मच्चिएको थियो भने केही आफ्नो व्यवसाय नै बन्द गरेर फरार भएका थिए । अवैधानिकरुपमा सञ्चालित म्यानपावरहरुले व्यापक ठगी गरेको गुनासो आउन थालेपछि विभागको टोलीले अनुगमन थालेको जनाइएको छ ।