भद्रपुर ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ ।
फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको अपार सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् ।
यसअघि अघिल्लो शनिबार १४ देखि १६ वर्ष उमेर समूहका खेलाडी छनोटका खेलहरु भएका थिए । ती खेलहरुबाट पहिलो चरणमा ५३ जना खेलाडी छनोट भइसकेका छन् ।आजका खेलहरुमा भद्रपुरका सबै वडाबाट आएका करिब एक सय खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएकोमा पहिलो चरणमा ६३ जना खेलाडी छनोटमा परेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
अब दुबै उमेर समूहबाट पहिलो चरणमा छनोटमा परेका खेलाडीबीच आगामी शनिबार खेलहरु पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइनेछ ।
नगरभित्र कुना–कुनामा रहेका तर अवसर नपाइरहेका युवालाई अवसर प्रदान गर्ने र भद्रूपुर झापा गोल्डकपको सशक्त आयोजक टिम तयार गर्ने उद्देश्यले कार्यसमितिको बैठकले नै ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । गोल्डकपका अध्यक्ष ढकालले अहिले छनोटमा परेका खेलाडी भद्रपुरको अब्बल टिम तयार गर्ने उद्देश्यले गरिएको बताउँदै समय दिनसक्ने खेलाडी मात्र सहभागी हुनर र अभिभावकले पनि आफ्ना नानीहरुलाई फुटबलमै सर्पित गाउन मनसायका साथ प्रशिक्षणमा पठाउन आग्रह गरेका छन् ।
यस्तै, भद्रपुर झापा गोल्डकपले आगामी मंसिर–पुसतिर झापा जिल्लास्तरीय अन्तर पालिका लिग कम नकआउट प्रतियोगिताको तयारी पनि गरिरहेको महासचिव जीवनकुमार श्रेष्ठले बताए । कार्यसमितिको बैठकले निर्णय गरेको लिग कम नकआउट फुटबल प्रतियोगिता बारे जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरी टिम तयार गर्न आग्रह गरिएको पनि उनले बताए ।