सुरुङ्गा ।  

नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटिको आयोजनामा शनिवार (आज) बाट झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा प्रथम वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । 

झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपीसाँबा लिम्बुले आज विशेष कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  उदघाटन खेलमा कनकाई ५ नम्बर वडा बिजयी भएको छ । ५ नम्बर वार्डले ९ नम्बरलाई ३—० गोल अन्तरले पराजित गर्दै बिजयी बनेको हो ।  बिजयी टिमका तर्फबाट ३ वटै गोल पहिलो हाफमा सम्भव भएको  हो  । बिजयी टिमका तर्फबाट रोचन लिम्बुले २ गोल र  विशाल राईले १ गोल गरे ।  खेलको म्यान अफ द म्याच बिजयी टिमका २  गोलकर्ता रुचन लिम्बु भए । उनलाई बिहानी फर्निचर उद्योगका प्रोपाइटर गणेश दाहालले नगद पुरस्कार प्रदान गरेका थिए ।  भोली आइतवारको खेल वार्ड नम्बर १ र २ को टिमविच हुने आयोजक समितिका खेल संयोजक पुर्ण लिम्बुले बताए । 

खेल उदघाटनपछि बोल्दै प्रमुख अतिथि सांसद साँबाले खेललाई मनोरञ्जनका रुपमा मात्रै नलिएर व्यावसायिकरण गर्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताए । यसका लागि तीनै तहका सरकारले भुमिका खेल्नुपर्ने भन्दै साँबाले हरेक वार्डमा एउटा रङ्गशालाको अभियान देशमा सुरु भइसकेको जानकारी दिए । देशमा खेललाई पनि समृद्धि र रोजगारीमा जोडन ढिला गर्नुहुदैन फुटबल खेल मात्रै नभएर अन्य खेलको विकास र व्यावसायिकरणमा हाम्रो ध्यान जान जरुरी बनिसकेको छ । साँबाले भने । 

प्रतियोगितामा कनकाई ५ नम्बर वार्डका वडाअध्यक्ष कृष्णबहादुर राई, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, समाजसेवी शेरबहादुर थापा, अखिल नेपाल महिला संघकी सुनिता खरेल लगायातले शुभकामना मन्तव्यराखेका थिए । नेपाल खेलकुद महासंघका नगर अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रताव राई गरेका थिए । 

आगामी वैशाख २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजयी तथा उपबिजयी हुने टिमले जनही नगद ३१ हजार र २१ हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा नगरका ९ वटै टिमले भाग लिएका छन् ।