बिर्तामोड ।
झापाको बिर्तामोडमा प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । बिर्तामोड नगरपालिका–१० सैनिकमोडको ‘अल इन वान’ क्लबलको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
उद्घाटन प्रतियोगिताको पहिलो खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई टाईब्रेकरमा पराजित गर्दै आयोजक टिम ‘अल इन वान’ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–१० स्थीत महेन्द्र ज्योति माविको खेल मैदानमा भएको खेलमा निर्धारीत समयमा दुई–दुई गोलको बराबरी भएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा ‘अल इन वान’ क्लबका खेलाडीहरु एलेक्स चौधरी, लक्ष्मी श्रेष्ठ, चत्रिका चौधरी र अनिता लम्जेलको प्रहार गोलमा परिणत भएको थियो । टाईब्रेकरमा धरानका लागि सुस्मीता राईले गोल गरेपनि प्रतिक्षा राई र टेरेशा मगरको प्रहार गोलमा परिणत हुन नसक्दा पराजय भोग्न बाध्य बन्यो ।
त्यसअघि बराबरी भएको खेलमा आयोजक ‘अल इन वान’ क्लबका लागि कुशुम राईले खेलको २१ औं र प्रतिक्षा मल्ल ठाकुरले २४ औं मिनेटमा एक–एक गोल गरेका थिए । धरानका लागि प्रतिक्षा राईले ९ औं र समिक्षा मगरले २० औं मिनेटमा एक–एक गोल गरेका थिए ।
आयोजक टिम ‘अल इन वान’ की गोल रक्षक सुशिला चौधरी आजको खेलको ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । प्रतियोगिताको बिजेताले २ लाख २ हजार र उपबिजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोक संस्थाका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए । प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज मिक्लाजुङ गाउँपालिका मोरङ र महमाई एकता क्लब इलामबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तारा प्रसाइले गरेकी थिइन् ।