बिर्तामोड । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् । बिर्तामोडमा शनिवार (आज) भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले अग्रज पत्रकार मुखियाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा चीरञ्जीवि घिमिरे, सह–सचिवमा भूमिका सुब्वा र कोषाध्यक्ष प्रकाश बानियाँलाई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला चयन भएका छन् ।

भगीरथ आले मामा नेतृत्वको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेको हो । मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।

toli

मञ्चका झापा अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा कोशी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष जीना कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वल ओली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र घिमिरे नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ‌।

मञ्चका उपाध्यक्ष अमित खम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए । कार्यक्रममा बन्द सत्रमा कोषाध्यक्ष राजु पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।