बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–१० सैनिकमोडको ‘अल इन वान’ क्लबले प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बैशाख ९ देखि १६ गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरी जिल्लाका टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए । महेन्द्रज्योती माविको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र रुपले अघि बढाइएको आयोजकले आइतवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको बिजेताले २ लाख २ हजार र उपबिजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने योञ्जनले जानकारी दिए । प्रत्येक खेलको ‘प्लेयर्स अफ द म्याच’ लाई तीन हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।

all in

सेमिफाइनलको प्लेयर्स अफ द म्याचलाई ४ हजार तथा फाइनलको हरेक बिधामा प्लेयर्स अफ द सिरिजलाई जनही ५ हजार रुपैंयाँ पुरस्कार दिने योजना रहेको आयोजक क्लबका सचिव रोशन खरेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख ४२ हजार रुपैंयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, बिर्तामोड नगरपालिका–१० का अध्यक्ष दुर्याेधन गुरुङ, बिर्तामोड नगर खेलकुद बिकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ लगायतले बोल्दै प्रतियोगिता सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा वडा सदस्य धनमाया श्रेष्ठ, पृथ्बी बस्नेतलगायतको उपस्थिति रहेको थियो ।